काठमाडौं, १७ साउन – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता रहेका नेता नारायाणकाजी श्रेष्ठ अहिले घरमै बसेर अाराम गरिरहेको श्रोतले जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साउन ७ गते साँझ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षहरूसँग भएको बहस र विवादपछि नेता नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताबाट राजीनामा दिएका थिए।
चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीसँग भेटघाट गरेको विषयमा पार्टीभित्र विवाद हुँदा नेकपाका प्रवक्ता श्रेष्ठले राजीनामा दिएका हुन्।
प्रधानमन्त्री केपी ओलीले साउन ७ गतेको नेकपा सचिवालय बैठकमा केसीको माग सम्बोधन गर्ने विषयमा श्रेष्ठले भूमिका खेलेको र भेटघाटसमेत गरेको भन्दै प्रश्न उठाएका थिए।
श्रेष्ठले केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने र त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन ठीक रहेको बताएका थिए। बैठकमा श्रेष्ठले केसी र माथेमा प्रतिवेदनमाथि सकारात्मक धारणा राखेपछि प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए ।
प्रधानमन्त्री ओली र प्रवक्ता श्रेष्ठवीच सुरुमा केही वैचारिक प्रश्नमा विवाद परेको थियो। तर, ओलीले जब सुशीला कार्की र डा. गोविन्द केसीसँग किन भेटेको भन्दै नारायणकाजीलाई प्रश्न गरे, त्यसपछि परिस्थितिले अर्को मोड लियो।
उनले पार्टीको जिम्मेवार व्यक्ति एवं प्रवक्तासमेत भएको व्यक्तिले कुनै पनि विषयमा पार्टीको तत्कालीन पोसिजन के छ, त्यो ख्याल गर्नुपर्ने भन्दै श्रेष्ठको गतिविधिप्रति आपत्ति जनाएका थिए।श्रेष्ठले आफू प्रवक्ता भएकै कारणले विवेकले देखेको बोल्न र मानिसहरू भेट्न नपाउने हो भने ‘तपाईंहरूनै राख्नोस् तपाईंहरूको प्रवक्ता’ भन्दै लिखित राजीनामा दिएको थिए।
डा. केसीले जुम्लामा सुरु गरेको अनसनलाई सुरुमा सरकारले वास्ता नगरेपछि पार्टीभित्रबाट प्रवक्ता श्रेष्ठले पहलकदमी लिएका थिए। डा. केसीको आन्दोलनका बारेमा श्रेष्ठले दुईचोटि सचिवालय बैठकको माग ओली र प्रचण्डसँग गरेका थिए।
पहिलो सचिवालय बैठक डा. केसीलाई काठमाडौं ल्याउनुभन्दा अघिल्लो रात बालुवाटारमै बसेको थियो। सो बैठकले दुईवटा निर्णय गरेको थियो। त्यो दिनको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीको भनाइमा समर्थन गर्ने खालको धारणा राखेपछि श्रेष्ठले त्यहीं राजीनामा बुझाएका थिए। श्रेष्ठले राजीनामा दिए पनि स्वीकृत भएको छैन।
श्रेष्ठले आवेशमा राजीनामा घोषणा गरेको भन्दै त्यसलाई गम्भीर रूपमा नलिएको एक नेताले बताएका छन्। उनका अनुसार डा.के सी का मागमा परेको विवाद थियो, त्यो पनि सुल्झियो अब यो पनि सल्टिन्छ। तर, नेता श्रेष्ठ पुनः पदमा फर्किन्छन् या त फर्किदैनन् त्यो भने उनिबाटनै जान्न बाँकी नै छ।