प्रदेशसभा उम्मेदवार (काठमाडौं क्षेत्र नं.१० ‘ख’) रमेश चन्द्र प्रधानले आगामी चुनावमा निर्वाचित भए स्थानीयहरुको सल्लाह, सुझाव र सहभागितामा भाषा, धर्म, संस्कृति, परम्परा आदिको संरक्षण सम्वद्र्धन गर्ने र स्थानीयस्तरका उद्योगहरुमा स्थानीय युवाहरुलाई नै रोजगारीको व्यवस्था मिलाइदिने बताएका छन् । चन्द्रागिरी नगरपालिका वडा नं.१० का स्थायी बासिन्दा उनी आफू कुनै पदप्रतिष्ठामा नहरदासमेत गाउँ छिमेकका जो कोहीलाई परेको दुःख कष्ट अर्थात समस्या आइपर्दा निरन्तर रुपमा खटिएर काम गर्दै आएका समाजसेवीको रुपमा परिचित छन् । २०४६ सालको आन्दोलनको सफलतासँगै कांग्रेसको क्षेत्रीय सभापति बनेका श्रेष्ठ २०४९ सालको चुनावमा जिल्ला विकास समिति काठमाडौंका सदस्यमा निर्वाचित भई जनताको प्रतिनिधित्व गर्ने मौका पाएका थिए । तर, २०५४ सालमा कांग्रेस, नेमकिपा, राप्रपाको संयुक्त उम्मेदवार(उपसभापतिमा) बनेका उनले थोरै भोटले हार व्यहोर्नु पर्यो । त्यसपछि नेपालमा २० वर्ष स्थानीय चुनाव हुन नसकेपछि उनी पनि अन्य धेरै जनप्रतिनिधिझै राजनीतिबाट ओझेलमा परे । त्यसबीचमा कांग्रेस फुटेका कारण र लामो समयसम्म चुनाव नभएकाले गर्दा आफू राजनीतिबाट पछाडि परेको बताउने प्रधान जिल्लामा का.वा.उपसभापति भई कार्य गर्दा गाउँको एक्लो जल्दाबल्दा जनप्रतिनिधि थिए । त्यसैले, आजभोलि उम्मेदवार बनि गाउँगाउँ डुल्दा नयाँ युवाहरुले समेत तपाईको नाम त सुनेको थिए तर आज प्रत्यक्ष भेट भयो भनेर खुशी व्यक्त गर्ने गरेको उनले सुनाउँछन् । सो राजनीति ग्यापमा पनि उनले गाउँ छिमेकका समस्याहरुलाई सामाजिक कार्यमार्फत समाधान गर्न पछि हटेनन्, जसका कारण आज आफ्नो क्षेत्रका मतदातासँग भोट माग्न जाँदा पहिले गरेका कामको स्मरण गर्दै फेरि पनि जनप्रतिनिधिको आर्शिवाद पाउने गर्छन् । २०४९ सालमा काठमाडौं जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएपछि उनले त्यसबेला नागढुंगादेखि टेकुसम्मको क्षेत्रको अर्थात् ६, ७ वडाको एक्लो जनप्रतिनिधि भै सेवा गर्ने अवसर पाएका थिए । अहिले उनले २५, ३० वर्ष अघि कोरेका खाका र बनाएका बाटाघाटा, पाटीपौवा आदिलाई अझ आधुनिक र व्यवस्थित बनाएर नगरको विकास गर्ने प्रतिवद्धता गरेको छन् । संघीय समाजवादी पार्टीबाट छाता चुनाव चिन्ह लिएर आगामी मंसिर ४ गतेको चुनावी प्रतिस्पर्धामा उत्रेका उनै उम्मेदवार श्रेष्ठसँग गरिएको कुराकानी :
- तपाईंको चुनावी एजेण्डाहरु के के छन् ?
२०४९ सालमा काठमाडौं जिल्ला विकास समितिमा निर्वाचित भएपछि गाउँगाउँमा थुप्रै उदाहरणीय काम गरे । तत्कालिन एमालेका नारायणप्रसाद ढकाल सांसदमा निर्वाचित भएको समयमा मैले तीन वर्ष कार्यवाहक उपसभापति चलाउने मौका पाएको थिए । र, त्यसबेला योजना जाँचपास समितिको अध्यक्ष भएर पनि जिल्लावासीको सेवा गरे । त्यो बेला विकास निर्माणमा काम गरेको हुनाले त्यसमा मेरो राम्रो दखल छ । त्यो समयमा यस क्षेत्रमा मैले सुरु गरेको खानेपानी योजनाहरुको निर्माण, भौतिक पूर्वाधारका कामहरुको जगमा नै पछिका जनप्रतिनिधिहरुले काम गरेका हुन् । जस्तोः चित्लाङ, कुलेखानीमा जाने गणेशमान मार्ग, मातातिर्थबाट कुलेखानी जाने सडक(अहिलेको केवलकारसँगै) जसको निर्माण कार्यको थालनी मैले नै गरेको हो । सुरुमा यस क्षेत्रमा खानेपानी योजनाहरु ल्याएको मैले नै हो । मेरो हजुरबुवा यहाँको द्वारे हुँदा खानेपानी योजना थियो, त्यसअघि यहाँका वासिन्दा कुवाको पानी खान्थे । जिल्ला विकास समितिमा रहदा यहाँका घरघरमा निःशुल्क पानी पुर्याइदिएको छु । अहिले प्रत्येक घरमा दुई घण्टा हरेक दिन पानी आउछ । मातातिर्थ मुहानबाट प्राकृतिक पानीलाई खानयोग्य बनाएर बाडिराखेका छौं । मैले सुरु गरेको यो योजना सतुङ्गलका वासिन्दालाई सुरुमा २५ हजार रुपैयाँ लिएर धारा दियौँ र पानी दिएवापत मासिक शुल्क लगायत अन्य केही शुल्क पनि लिएनौ, जुन नियम आजसम्म लागू छ । एउटा इनार खन्यो भने करिब एक लाख खर्च हुन्छ तर मैले २५ हजार लिएर अक्षयकोषमा राखे र अहिले त्यही पैसाले धारा मर्मतलगायतका अन्य काम गर्ने पैसा पुगिराखेको छ । समितिको सदस्यको कार्यकाल सकिने वित्तिकै उपसभापतिमा पराजित भएपछि पनि गाउँको लागि केही न केही काम गरौं भनेर पानीको व्यवस्थापन लगायत गाउँमा परिआएका हरेक समस्याहरुको समाधान गर्ने काम गर्दै आएको छु । अहिले चन्द्रागिरी क्षेत्रमा पानीको अभाव छैन । त्यसैगरी, अहिले हाम्रो हरेक गाउँमा पिच रोड छ, जुन प्राय मैले नै सुरुवात गरेको थिए । यसरी मैले सुरुवात गरेका निर्माणलगायत शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रलाई उदाहरणीय रुपमा अझ व्यवस्थित गर्ने मेरो प्रमुख एजेण्डा हुन् ।
- मतदाताहरुले तपाईंसँग के अपेक्षा गरिराखेका छन् ?
यहाँ पहिला काम गरेको उम्मेदवार म नै भएकाले मलाई यहाँको सबै समस्या थाहा छ । यहाँको पुराना स्थानीय बासिन्दा र बसाइसराईबाट आएका नयाँ मान्छेबीच समन्यवय र यो ऐतिहासिक पुरोनो सहरको संस्कृति कला आदिको संरक्षण र सम्बद्र्धन गरी मुख्य दुईवटा अहिले यहाँको समस्या हुन् । सतुङ्गल पुरानो ऐतिहासिक पौराणिक सहर भएको हुनाले यहाँ नेवारी वा गुठी जात्रा लगायतका संस्कृतिहरु धेरै छन् । यहाँको प्रसिद्ध साता गाउँले जात्रा हो । संस्कृतिमा धनि भएकाले ७७ जिल्लाका मानिसहरु यहाँ आकर्षित हुन्छन् । किनभने प्राय उपत्यकाभित्र बनेकामध्ये पहिलो आधुनिक निर्माणका कामहरु यहि नगरपालिकामा बनेका छन् । जस्तोः कलंकी अण्डरपास, थानकोटको पहिलो सुरुङमार्ग, पहिलो केवुलकार यही बनेको हो । यि बनेका संरचनाका साथै खानेपानी पनि प्रयाप्त भएको यस क्षेत्र काठमाडौं जिल्लाको मात्र नभएर सबै जिल्लाको आकर्षणको केन्द्र हो । यहाँ पुराना स्थायी बासिन्दा र बसाइसराईबाट धेरै नयाँ समाजको बसोबास भएकाले पुराना स्थानीय र नयाँ मान्छेबीच समन्यवयको अभाव भएको महसुस गरेको छु । यो समन्वयको अभावलाई समदुरीमा राखेर काम गर्न सक्नु पर्छ । नयाँ बस्तीको मान्छे मिसिने बित्तिकै यो समाजको विकास हुन्छ । पुरानो वस्तीको मान्छेले हामीलाई दबाब भयो भन्ने कुन्ठा राख्नु हुँदैन । समयसापेक्ष रुपमा नयाँ र पुरानाबीचमा आफूसँग भएको सिप, स्रोत साधन सबै समन्वय ढंगबाट अगाडि बढाउन सक्यो भने राम्रो हुन्छ भनेर नयाँ र पुरानो वस्तीको दुरी हटाउने मेरो पहिलो प्रयास हुनेछ । त्यो हटेर समुह भएपछि यो क्षेत्रको विकासमा एकले अर्कोलाई हातेमालो गरेर अझ अगाडि बढ्न सकिन्छ । अहिले जताततै बनेका सडकहरु अव्यवस्थित छन् । मानिसहरुको पुराना घरहरु भत्काएर बाटो ठूलो बनाउ भन्ने सोच हुन्छ । त्यो भत्काउनु हुँदैन, बरु बाटो वान–वे रुपमा विकास गरेर यातायातको विस्तार गर्ने सोच बनाएको छु । यहाँ भएका रोडलाई रोडकै रुपमा विकास नगरिकन आधुनिक ढंगबाट लाने छु । रोडमा पेटीको व्यवस्था गर्ने, साइक्लिङ्ग रोडलगायतको विकास गर्ने छु । जुन मतदाताहरुले पनि अपेक्षा गरेका छन् ।
- पर्यटन क्षेत्रको लागि के कस्ता कार्यक्रम ल्याउने सोच्नु भएको छ ?
मैले सोचविचार गरेर २०५४ सालमै खनेका बाटाहरुले गर्दा अहिले चन्द्रागिरीमा केवलकार आउन सक्यो । केबलकार नजिकैको दायाँबायाँको दुई वटा बाटो जिल्ला सदस्य हुँदा मैले नै सुरु गरेको हो । जुन, बाटोको गन्तव्य कुलेखानी हो । अहिले कुलेखानीबाट दक्षिणकाली १८ किलोमिटर, त्यहाँबाट अर्को ३५ किलोमिटर, सतुङ्गलको पोइन्टबाट १९ किलोमिटरको छोटो दुरीमा कुलेखानी पुगिन्छ । त्यस्तै, थानकोटबाट जाने गणेशबहादुर मार्ग २२ फिटको पिच रोड बनेको छ । यि दुई बाटोको गन्तव्य भनेको इन्द्रसरोवर(कुलेखानी ड्याम) हो । कुलेखानी ड्यामको दहमा ढुंगा चलाउन मिल्ने हिसाबले त्यो बाटो खोलेको हो । अब ढुंगा चढ्नकै लागि भनेर पोखरा गइराख्नु पदैन । यो बाटो खन्नु अगाडि २०४९/५० सालसम्म चखेल भन्ने ठाउँका बुढाबुढीहरु नेपाल(काठमाडौं उपत्यका) हेर्न भनेर डाँडामा आएर हेरेर जान्थे, बाटो नभएकाले उपत्यकामा आउन त्यसबेला गाह्रो थियो । म समितिमा हुँदा कतिपय मानिसहरु काठमाडौं नटेकिकनै मरेको देखेको छु । अहिले आएर दक्षिणकाली आदिबाट चारैतिर बाटो बनको छ । नत्र भने पहिला १० किलोमिटरको फरकको काठमाडौं डाडाबाट हेरेर फर्किन्थे । अहिले कुलेखानी रोडले गर्दा बन्जी जम्प, बोटिङ्गलगायत पोखरालाई बिर्सिने गरी इन्द्रसरोवर बनेको छ । इन्द्रसरोवरबाट मौसम सफा भएको बेला गोरखा दरबारको झण्डा देखिन्छ । यो पर्यटक क्षेत्र हो, होटलहरु धेरै खुलेका छन् । चन्द्रागिरीसाइडमा पनि होटलहरु खुलेको छ । यसरी दिनानुदिन विकास हुँदै गएको छ र आवश्वकतानुसार पर्यावरणलाई ध्यान दिई पर्यटन विकास निर्माणका थप कामहरु गर्ने छु ।
- चुनाव जित्नु भएको खण्डमा विशेष के विषयलाई प्राथमिकता दिएर काम गर्नु हुन्छ ?
भएका सडकलाई आधुनिक ढंगले व्यवस्थित गर्ने अर्थात् वान–वे आदि बनाउने । नयाँ र पुरानो वासिन्दाहरुबीच समन्वय बढाएर विकासलाई एकीकृत ढंगले लाने । यो क्षेत्रलाई पर्यटन र शैक्षिक हवको रुपमा विकास गर्ने । पहिला मैले सरकरी स्कुलहरु बनाउन गरेको योगदानहरु जस्तै अन्य स्कुललाई योगदान दिने । मैले जेसिस इन्टरनेशनल स्कुललाई कलेजसम्म पुर्याएको छु । यो क्षेत्रमा भेटनरी कलेज पनि छ । अरुले घोषणापत्रमा रोजगारीको कुरा गर्छन्, मैले स्थानीय उद्योगहरु बढाउने, स्थानीय युवालाई रोजगारी दिनेमा प्रयास गर्ने छु । काठमाडौंमा बालाजु उद्योगपछि सबभन्दा बढी उद्योग भएको क्षेत्र पनि यहि हो ।
- युवालाई रोजगारी बनाउने कुनै विशेष कार्यक्रमहरु ल्याउनु हुन्छ ?
रोजगारदाता उद्योगहरुलाई दुःख दिएर रोजगार खोस्न पनि हुँदैन । त्यसको निम्ति आवश्यकतानुसारको तालिम दिने, तालिमहरुको व्यवस्थापन गर्ने, स्थानीय युवाहरुलाई स्थानीय उद्योगमा रोजगार दिनुपर्छ भन्ने दबाबै दिएर काममा लगाउने पहल गर्ने छु ।
- युवालाई नेतृत्व दिनुपर्छ भन्ने आवाज बुलन्द भएको अहिलेको समयमा तपाईंको उम्मेदवारीप्रति मतदाताले कस्तो प्रतिक्रिया जनाउनु भएको छ ?
अहिलेको सस्तो नारा, अबको पालो युवाको पालो भन्ने आइराखेको छ । सबै चिजमा परिपक्क हुने भनेकै ५० वर्षमा हो । ४५ वर्षपछि प्रौढ भन्ने चलन छ । अहिले प्रायजसो आकर्षणको रुपमा आउन खोजेको स्थिति छ । पहिलेदेखि नै धेरै पार्टी, धेरै स्वतन्त्र व्यक्ति आए र हराएर गए । अहिले यो अवस्था पनि पानीको फोका जस्तै सट्ट आउछ सट्ट बिलाउछ । जुन, स्थिति आउनु राम्रो होइन । जिम्मेवार ढंगबाट उम्मेदवारी दिनुपर्छ र मतादाताले जिताएर पश्चताप गर्नुु भन्दा पुरानो–नयाँ जो भएपनि शारिरीक रुपमा सक्षम र भिजन भएको व्यक्तिलाई मतदान गर्नुपर्छ । जनताले छान्ने अधिकार त छदैछ तर सस्तो नारामा भन्दा शारिरीक रुपमा प्रौढ मान्छेमा परिपक्वता छ भने उमेरको कुरा ठूलो होइन । अहिले मलाई समक्ष र भिजन भएको काम गर्ने जनप्रतिनिधिको रुपमा यस क्षेत्रका सबैले चिन्नु भएको छ र तपाई नै यो क्षेत्रको लागि आउनु पर्छ भनिराख्नु भएको छ ।
- कला, संस्कृतिको संरक्षण प्रवद्र्धन गर्ने तपाईका कस्ता योजना छन् ?
अहिलेको संविधानमा संघीय, प्रदेश र स्थानीय सरकार गरी तीन तह छ । त्यसभित्र पनि अल्पसंख्यकहरुलाई सांस्कृतिक क्षेत्र, अल्पसंख्यक युनिटहरु बनाउने अधिकार दिइएको छ । जसअनुरुप चन्द्रागिरी नगरपालिकाबाट सांस्कृतिक क्षेत्र विकास र विस्तारका योजना पास गर्ने घोषणा भएको छ । त्यसैले स्थानीय कला संस्कृति जर्गेना गरेर बचाउने, विकास गर्ने कुरालाई प्राथमिकता दिने छु । अहिले प्रदेश सरकारले सिफारिस गरेर कामकाजको दोस्रो भाषाको रुपमा बाग्मती प्रदेशलाई नेवार र लामसालिङ भाषा प्रयोग गर्ने भनिएको छ । यसको निर्णय भएको छ तर कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्यनमा ल्याउनु काम गर्ने छु ।
- अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
अहिलेको चुनावको दौडमा कसैले नगरपरिक्रमा धेरै गरेको छ, कसैले युवा नारा दिएको छ । यस्ता अनेक कुरामा नलागेर पहिला गरेको विकास निर्माणमा अहिलेसम्मको समर्पणलाई विचार गरेर र मेरो अनुभव सदुपयोग पनि हुने भनेर उम्मेदवारी दिएको छु । मेरो समर्पण र अनुभन यस क्षेत्रको निम्ति राम्रै होला । मैले कोरेको विकासको खाकाहरु कतिपय अधुरै छन्, त्यो पनि पूरा गर्ने गरी म अन्तिम पटक चुनाव लड्दैछु । मेरो अहिलेसम्मको इतिहासमा मैले दोहोर्याएर चुनाव लडेको पनि छैन । एकपटकमा एउटा चुनाव लडेको छु । प्रजातन्त्र ल्याउन २०३० सालदेखि नेपाली कांग्रेसको सदस्यको रुपमा लागे । र, देशमा संघीयता आवश्यकता छ, जाति, धर्म आदि सबैको रक्षाको निम्ति भनेर लागे, संघीयता पनि आयो । संघीयताबाट आएको प्रदेशसभामा बसेर एक पटक यस क्षेत्रको पुनः विकासमा काम गर्न चाहेको हुनाले विवेकपूर्ण ढंगले मतदान गरी मलाई विजय गराउन हुन हार्दिक आग्रह गर्छु । मैले तीन पटक चुनाव लडेकोमा जिल्ला विकास समितिको सदस्य जिते । संविधानसभामा प्रतिनिधिसभा लडे, जसमा पराजित भए, अब अहिलेको निर्वाचन लड्दैछु । जित हार आफ्नो ठाउँमा छ, मैले जिते भने काम गरेर नयाँ पुस्तालाई वातावरण बनाइदिने हो र हारे पनि यो अन्तिम चुनाव हुनेछ । जित हुन्जेल आफै लडिराख्ने, अरुलाई मौका नदिने पक्षमा म छैन । अहिले पनि पार्टी, समाजसेवा, शिक्षा क्षेत्रमा काम गरिराखेको छु, यसलाई बाचुन्जेलसम्म निरन्तरता दिन्छु ।