प्रदेशसभा सदस्य ललितपुर ३(१)की स्वतन्त्र उम्मेदवार सविता महर्जन यतिबेला पाँच वर्षसम्म जनताको सेवक भएर काम गर्न र उहाँहरुको हरेक सुख दुःखमा साथ दिएर काम गर्ने अवसर र उद्देश्यका साथ घरदैलो कार्यक्रममा व्यस्त छिन् । आगामी मंसिर ४ को चुनावमा प्रत्यक्ष र अप्रत्यक्ष चिन्नुहुने सबैसँग लालटिन चुनाव चिन्हमा भोट हालिदिन विभिन्न सामाजिक संजाल, मिडियामार्फत अनुरोध गर्दै आएकी महर्जनले आफ्नो जित ललितपुर क्षेत्रका जनताको जित हुने बताउने गर्छिन् । ललितपुरस्थित सुनाकोठी वडा नं.२६ मा जन्मिएकी उनको कर्म क्षेत्र पनि सोही ठाउँ हो । उनले विशेष ललितपुर जिल्लामा पाँच प्रकारका एकल महिलाहरुको हक, अधिकार, मानसम्मान लगायतका समाजले प्रत्यक्ष रुपमा देख्ने गरी सामाजिक कामहरु गर्दै आएकी छन् । अहिलेसम्म समाजको धेरै विकास हुनुपर्नेमा अझै पनि रोजीरोटीको जोहो गर्नै समस्या भइराखेको सुनाउने उनी अब मान्छेको जिवनमा लालटिनले दिने उज्यालो जस्तै उज्यालो हुनुपर्छ भन्नेमा आफू लागिपरको बताउछिन । जितपछि जेष्ठ नागरिक, युवा, बालबालिका, विपन्न महिला, तेस्रोलिंगी लगायतलाई समेटेर समाजमा राम्रो काम गरेर छाप छोड्ने बताउने उनी यतिबेला जित सुनिश्चित हुनेमा विश्वस्त छिन् । लालटिनको उज्यालो जस्तो आफ्नो क्षेत्रका मानिसको जिन्दगी पनि उज्यालो बनाउने सोच बोकेर आगामी चुनावमा होमिएकी उनै महर्जनसँगको चुनावी गफ :
- तपाईंले चुनाव लड्को कारण के र स्वतन्त्र उम्मेदवारनै किन छान्नु भएको ?
यहाँ सुनाकोठीलगायतका विभिन्न ठाउँमा स–साना बाटोको समस्या छ । सुनाकोठीमा भएको अलकत्रा कारखानाले समाज तथा वातावरणलाई प्रदुर्षण गरिराखेको छ । ठूला नेताहरुको कारखाना भएकाले त्यसलाई रोक्न सकिराखेका छैनौं । पार्टीगत गएभने आफूले सोचजस्तो काम गर्न सक्दिन होला भनेर मैले प्रमुख एकल महिलालगायत सबै महिला दिदी बहिनीहरुको लागि काम गर्ने भएकाले स्वतन्त्रबाट जान उचित ठाने । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झै स्थानीयलाई दुःख दिएर समाजमा काम गर्ने छैन । उहाँले भन्दा १० गुणा राम्रो काम गरेर देखाउछु । उहाँले भत्काउने र बिगार्ने काम गर्नु भएको छ । हामी सपार्ने र बनाउने काम गर्छौ । अध्ययन नै नगरि जनताबाट वाह,वाह! पाइन्छ भनेर काम गर्नु हुँदैन भन्ने मलाई लाग्छ । मैले पाँच प्रकारका एकल महिलाहरुको हक, अधिकार, तालिम, रोजगारी क्षेत्रमा काम गर्दै आएको व्यक्ति हुँ । म आफै पनि एकल विधवा महिला हो । श्रीमानको मृत्युपछि मैले परिवारले जति माया पाएपनि समाजबाट दुःख, कष्ठ, हेपाहा प्रवृत्ति भोग्नु पर्यो । मैले आफै दुःख भोगेर आएको हुनाले महिला तथा युवाहरुको दुःख सुख सबै बुझेको छु । पार्टीमा भन्दा पनि सामाजिक काम गर्न नै रुचाउने म आफ्नो काम गर्दागर्दै पनि युवाहरुले जति सुविधा पाउनु पर्ने त्यो हुन सकेको छैन । अहिले धेरैजसो युवाहरु बाहिर जाने बाध्यता, लहर बनेको छ । नेपालमा अवसर र बच्चाहरुले सोचेको जस्तो काम गर्न नपाएरनै उनीहरु विदेशीएका हुन् । उनीहरुलाई के गर्न सकिन्छ, उनीहरुको इच्छा, सोच के हो भनेर अध्ययन गरि युवाहरुलाई पनि सँगसँगै लानु पर्छ भन्ने सोचका साथ चुनावमा आएको हो । यसअघि म उपमेयरको दाबेदार हुन खोज्दा सामाजिक कार्य गर्न असर पर्छ कि भन्ने लागेर त्यो पदमा उम्मेदवारी दिने अवसर गुमाए । र, अहिले यहाँको जनताको जनप्रतिनिधि भएर आफ्नो क्षेत्रमा काम गर्न पाइन भने भोलिका दिनमा झन ढिलो हुन्छ भनेर यो उम्मेदवारी दिएको हो । आफूले भोगेको देखेको भएर अब महिलाले अधिकार र अवसर पाउनु पर्छ है भन्ने मेरो सोच पनि हो । राजनीतिमा ३३ प्रतिशत महिलाहरु संलग्न हुनुपर्छ भनिने गरिन्छ तर अहिले यसपटक ९ प्रतिशत मात्रै छ । यो घट्नुको कारण धेरैजसो गठबन्धन बनाउने प्रवृत्तिले गर्दा हो । अहिले पनि हामीले अवसर गुमायौँ भने पाँच वर्ष पछि धेरै ढिला हुन्छ र गर्न खोजेका कामहरु पनि गर्न सकिदैन भनेर यसपटक मैले स्वतन्त्रमा उम्मेदवारी दिएको हो । र, सामाजिक काम पनि राजनीतिकको एउटा सानो अंश जस्तो लाग्यो । किनभने राजनीति बिना हामीले काम गर्न नसक्ने रहेछौं । जुनसुकै पदमा बसेको नेताहरुसँग हामीले सामाजिक कार्य गर्न पनि आग्रह गरिराख्नु पर्ने र काम गर्नेको लागि आग्रह गरेर नेताहरुसँग हात थाप्दा पनि काम गर्न सहज नहुनेले गर्दा उम्मेदवार बन्न बाध्य भएको हो । त्यस्तै, नीति निर्माण गर्ने तहमा हाम्रो समुहको कोही नपुन्जेलसम्म हामीलाई काम गर्ने वातावरण नहुने रहेछ भनेर पनि प्रदेश सभा सदस्यको लागि क्षमतावान भए है भन्ने लागेर मैले उम्मेदवारी दिएको हो ।
- चुनावी दौडमा कस्ता किसिमका मतदाताको कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?
यहाँ मलाई नचिन्ने कमै मात्रामा छन् । सुनाकोठी मात्र मेरो समाज होइन । यहाँको हरेक वडा वडामा एकल महिला समुह छ । उहाँहरुलाई प्रत्यक्ष भेट गर्दा तपाई काम गर्ने मान्छेलाई नै भोट दिने हो भन्नु हुन्छ । सबैबाट मप्रति सकारात्मक भएको देख्दा सफल हुन्छु र हुनै पर्छ भन्ने लागेको छ । मैले संस्थाअन्तर्गत रहेर महिलाको क्षेत्रमा बाहिर जिल्लाहरुमा गएर पनि काम गरेको छु । तर, धेरैजसो ललितपुर जिल्लाको धापाखेल, सुनाकोठी, हर्षिदि, बाडेगाउँ, बुङमती, लेले, टिकाभैरव, चापागाउँ, ठेचु आदि ठाउँका तीन सय जना एकल महिलालाई रातो पहिरन पहिरियाएर रातो अभियान सुरु गरेका थियौं । यो अभियान पछि भूकम्पका बेला हामी महिलाहरु भेला भएर जागरुकता, तालिम, कानुनी परामर्शलगायत धेरै कामहरु गर्यौ । त्यसले गर्दा उहाँहरु पनि मेरो उम्मेदवारीप्रति खुशी हुनुहुन्छ । र, म जे गर्छु भनेर आएको छु त्यो गरेरै छोड्छु, विशेष एकल महिलाको लागि राम्रा योजनाका कामहरु गरेरै छाड्छु । अहिले पनि हाम्रो क्षेत्रका एकल महिलाहरुको सामुहित बचत खाता छ, त्यसबाट सबैले तरकारी खेतीलगायत केही न केही काम गरिराख्नु भएको छ ।
- मुख्य प्रतिस्पर्धी कसलाई ठान्नु भएको छ ?
हुनत ठूला पार्टीका हुनुहुन्छ तर पनि उहाँहरु भन्दा म कम छैन भन्ने लागेको छ । उहाँहरु सबैलाई हराएर म बहुमतले नै जित्छु भन्ने लागेको छ । अहिलेको समयमा जनताको आवाज पार्टी भन्दा स्वतन्त्र नै भएकाले, उहाँहरुले पार्टीलाई भोट हाल्नु पर्छ भन्ने सोच बनाएको मैले देखिन । यस क्षेत्रमा ६ वटा पार्टीको उम्मेदवार सबै पुरुष हुनुहुन्छ र म एकजनामात्रै स्वतन्त्रबाट महिला उम्मेदवार छु । त्यो भएर पनि मेरो जित हुन्छ नै होला । किनभने प्रतिनिधि सभामा महिला चाहिने प्रदेश सभामा चाहीँ किन महिला नचाहिने ?, भन्ने प्रश्न पनि आइराखेको र पार्टीहरुले कुनैपनि ठाउँमा अझैपनि महिलालाई पद दिन हिचकिचाएको अवस्थाले गर्दा पनि मेरो प्रतिस्पर्धी कसैलाई पनि ठानेको छैन ।
- जित्नु भयो भने सर्वप्रथम के काम प्राथमिकताका साथ गर्नु हुन्छ ?
मेरो ८/९ वटा एजेण्डा मात्रै छन् । सुरुमा म महिला भएको कारणले एकललगायतका महिलाहरुलाई पहिलो प्राथमिकता दिन्छु भन्ने थियो । तर, गाउँगाउँ डुल्दै जाँदा धेरैजनाले पानीको समस्या निक्कै भएको बताउनु भयो । उहाँहरुले बाटोको सुविधा अर्को वर्ष गरेपनि खानेपानीको सुविधा गरिदिइहाल्नु पर्छ है भनेर भन्नुभयो । अहिले मलाई पहिलो आवश्यकता पानीको व्यवस्थापन गरिदिनु पर्छ भन्ने लागेको छ । किनभने आधारभूत आवश्यकता जन्मसिद्ध सबैले पाउनु पर्छ । जनतासँग सहकार्य वा छलफल गरेर त्यो आवश्यकतालाई पूरा गर्ने प्रतिवद्धता गरेको छु । त्यस्तै, नेवारी समुदाय भनेको संस्कृति र परम्पराले धनी छ, त्यसको संरक्षण र सम्वद्र्धन गर्छु । यहाँ बाटोहरु पनि कतै सानो, कतै ठूलो छ त्यसको व्यवस्थापन गर्छु । हामीले खाना पकाउने ग्यास चुलोबाट गृहिणीहरुलाई क्यान्सरलगायतका रोगले सताएको छ । त्यसको वैकल्पिक इन्डक्सन चुलो मात्र होकी अन्य पनि खोज्ने छु । कृषिलाई प्राथमिकता दिएर भएका खाली जग्गा बाँजो राख्ने चलन हटाएर अर्गानिक तरकारी लगायतका बोटबिरुवा रोपेर हराभरा बनाउने छु ।
- यहाँ पर्यटनको सम्भावना कस्तो छ, त्यसलाई कस्तो प्राथमिकता दिनु भएको छ ?
संसारको सबैभन्दा ठूलो सुनाकोठीमा भिमसेन महाराजको मन्दिर छ । हुनत, यो पुरानो प्राचिन मन्दिर होइन तरपनि यसलाई पर्यटकको आकर्षको केन्द्र बनाउन सकिन्छ । त्यस्तै, यस क्षेत्रमा वर्षैपिच्छे धार्मिक मेला लाग्छ । सबै धर्मनुसारको रिती रिवाज छ, त्यसलाई जोगाएर पछिसम्म कसरी अगाडि लाने र पर्यटकलाई आकर्षित गर्ने भन्नेमा मेरो प्राथमिकता हुन्छ । पिकनिक(वनभोज) स्थलहरु छन्, त्यसलाई व्यवस्थित बनाउने छु । यहाँ एकदम धेरै रितीरिवाज भएकाले त्यसलाई जगेर्ना गर्न र युवाहरुलाई धिमे बाजादेखि लिएर हरेकमा समावेश गर्नुपर्छ । र, युवाको इच्छानुसार कला, संस्कृति, वातावरण, कृषि आदि क्षेत्रमा संलग्न गराउने अर्थात् नराम्रो चिजलाई हटाएर राम्रो काममा संलग्न गराउने सोच छ ।
- कस्ता खालको समुदायले तपाईलाई भोट दिन्छन् जस्तो लाग्छ ?
मैले आँखा चिम्लेर विश्वास गर्ने भनेको एकल महिला दिदी बहिनीहरु हुनुहुन्छ । उहाँहरुले त भोट दिइनै हाल्नु हुन्छ । त्यसपछि युवाहरु सँगसँगै सिप सिकेर बेरोजगार भएर बसिराख्नु भएका महिला तथा युवाहरुले साथ र समर्थन गर्नु हुन्छ । अहिले यो ठाउँमा रोजगारी भन्दा पनि बेरोजगारी बढी हुनुहुन्छ । पहिला पहिला अरु ठाउँमा बेरोजगारी हुँदा यहाँका महिलाहरुले गलैचा बुनेर, मुर्तिको काम गरेर पैसा कमाइराख्नु भएको थियो । अहिले यस्ता कामहरु धेरै बन्द भएको छ । अब बेरोजगारी महिला अर्थात युवाको समस्यालाई कसरी समाधान गर्न सकिन्छ र उहाँको इच्छानुसारको काम दिन वा अवसरहरु दिन सकिन्छ भनेर खोजि गरेर त्यसैनुसार काम गर्ने छु ।