काठमाडाैं, १५ साउन – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाइ विशेष समितिले अनुमोदन नगरे उनको नाम सिफारिस गर्ने संवैधानिक निकायका पदाधिकारीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन्।
नेता पाैडेलले तनहुँको दमौलीमा कांग्रेसले गरेको विरोध कार्यक्रममा संवैधानिक परिषद्ले सिफारिस गरिसकेकोले संसदीय समितिले जोशीलाई प्रधानन्यायाधीश बन्नबाट रोक्न नसक्ने बताएका हुन्।
नेता पौडेलले कामु प्रधानन्यायाधीश जोशीको दोष नभएको दाबी गर्दै उनको पद धरापमा पारिएको आरोप लगाए।
‘प्रधानन्यायाधीशमाथि धावा बोलिएको छ। अहिले सर्टिफिकेट भएन भन्ने हो भने सुरुमा लोकसेवामा जाँच दिँदा त्यस सर्टिफिकेट कसरी मान्य भयो?’ पौडेलको तर्क थियो, ‘न्यायाधीश हुँदै सर्वोच्चको प्रधानन्यायाधीशमा पुगेपछि मात्र सर्टिफिकेट कसरी अमान्य?’
साथै नेता पौडेलले नेकपा सरकारलाई दुई तिहाई बहुमत बाँदरको हातमा नरिवलजस्तो भएको आरोप लगाएका छन्।
जनतालाई अनेक किसिमले ढाँटेर कम्युनिस्टहरुले ल्याएको दुई तिहाई बहुमत दुरुपयोग भएकोसमेत पौडेलले दाबी गरे। उनले भने, ‘दुई कम्युनिस्ट मिलेर बहुमत ल्याए, जनतालाई ढाँटेर सदनमा पुगे,’ उनले भने, ‘त्यो नेपाली जनताविरुद्ध प्रयोग भइरहेको छ। उनीहरुको हातमा पुगेको दुई तिहाई बाँदरको हातमा नरिवल बनिरहेको छ।’
कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेको नेतृत्वमा सुरु भएको विरोध र्यालीमा केन्द्रीय सदस्य शंकर भण्डारीसमेत सहभागी थिए। कांग्रेस तनहुँको पार्टी कार्यालबाट सुरु भएको विरोध र्याली सफासडक, मुख्यचोक हुर्दै डांग्रेखोल्सी, गणेशमानचोक हुँदै अनचौतारीमा पुगी विरोध सभामा परिणत भएको थियो। विरोध र्यालीमा गाउँ गाउँबाट कार्यकर्ता सदरमुकाम दमौली झरेका थिए।