प्रतिनिधिसभा उम्मेदवार (काठमाडौं क्षेत्र नं.२) कुन्तीदेवी पोखरेल कामपा वडा नं.९ की एक जुझार युवा नेतृ हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी उनले धेरै महिला दिदीबहिनीलाई उद्यमी बनाएकी छन् । यसअघि संस्थामार्फत समाजसेवा गर्दै आएकी उनले भ्रष्टाचार, दलालीतन्त्री, नातावाद, कृपावादले ग्रसित नेपाली राजनीतिलाई सुदृढिकरण तथा जनजीविकाका सवालहरुलाई संघीय संसदमा जोडदार रुपमा उठान गरी कार्यसम्पादन गर्न आफूले उम्मेदवारी दिएको बताएकी छन् । प्रस्तुत छ, मंसिर ४ गतेको चुनावमा उम्मेदवार बनेकी उनै पोखरेलसँग गरिएको छोटो कुराकानी :
- चुनाव प्रचारको सिलसिलामा तपाईले मतदाताहरुको कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?
अहिले मतदाताहरु आफै मलाई भोट दिन उत्साहित हुनुहुन्छ । उहाँहरु म सँगसँगै स्वतःस्फूर्त रुपमा घरघरबाट मत माग्न हिडिराख्नु भएको छ । उहाँहरुले राप्रपा भनेपछि नयाँ अनुहार ल्याउनु पर्छ भनिराख्नुभएको छ । उहाँहरु मलाई समाजसेवी र उद्यमी भनेर चिन्नु हुन्छ । म जस्तै समाजसेवी र युवा उम्मेदवार उहांहरुले खोजिरहनु भएको मैले पाएँ ।
- तपाईले चुनाव जित्नु हुन्छु भन्ने आधार के छ ?
यस क्षेत्रमा मेरो जित सुनिश्चित छ । एक त शंकरापुरमा हामीले मेयर पहिल्यै जितेको ठाउँ पनि हो । अर्को क्षेत्र नम्बर २ मा उठेका उम्मेदवारहरु हेर्दा उहाँहरु भन्दा म साँच्चैको काम गर्न आएको र जनताको सेवामा निरन्तर लागिरहेको युवाका रुपमा परिचित छु । हुन त उम्मेदवार सबै काम गर्न नै आएको भन्छन् । तर मैले उहाँहरु पुगेको ठाउँमा नपुगिकनै समाजसेवाको क्षेत्रबाट पहिल्यै काम गरिसकेको छु । त्यस्तै, अरु विभिन्न जिल्लाहरुमा पुगेर महिला, युवाहरुको निम्ति धेरै काम गरेकी छु ।
- समाजसेवाको क्षेत्रमा तपाईले कस्ता मुद्दाहरुमा काम गर्दै आउनु भएको हो ?
म विशेष महिला र युवाहरुको निम्ति काम गर्दै आएको छु । म पहिलादेखि नै महिलालाई उद्यमी बनाउनु पर्छ भन्ने अभियानमा लाग्दै र काम गर्दै आएकी थिए । दुर्गम जिल्ला बझाङलगायत ४० वटा जिल्लाहरुमा गएर समेत मैले स्वास्थ्य क्याम्पहरु संचालन गरी सहयोग गरेको छु । यसरी नेपाली समाजको लागि स्वास्थ्य, शिक्षा, स्वरोजगार आदि क्षेत्रमा धेरै काम गरिसकेकी छु ।
- जितपछि के कस्ता कामलाई प्राथमिकता दिनु हुन्छ ?
हाम्रो पार्टीको अध्यक्षले भनेनुसार भ्रष्टाचार निर्मूल पार्ने हो । आर्थिक पाटोको समस्यालाई उजागर गरी काम गर्ने, युवाहरुलाई उद्यमी बनाउने अर्थात् उद्यमी बनाउन प्रोत्साहित गर्ने, दुई छाक खाना र बालबालिका पढाउनको लागि कुनैपनि युवाहरु विदेश जानुपर्ने वाध्यतालाई हटाएर स्वरोजगार बनाउनेमा मेरो पहल हुने छ । विशेष मेरो दुई नम्बर क्षेत्रका युवाहरुलाई कोही पनि बेरोजगारी बस्न नपरोस भन्ने मेरो प्राथमिकतामा हुने छ । महिलाहरुलाई चाहीँ मैले स्वरोजगारलगायतका तालिमहरु दिइराख्ने भएकाले मेरो क्षेत्रका महिलाहरुले कुनैपनि बेला काम गर्छु भन्नुभयो भने काम गर्न पाउनुहुन्छ, जुन व्यवस्था मैले मिलाइदिने छु । घरमै बसेर काम गर्नेलाई घरमै बसेर र अफिस गएर केही गर्न चाहनेलाई पनि तालिम सिकाएर काम गर्ने सक्षम बनाउछु ।
- विद्यार्थी विदेश पलायन हुने अहिलेको विकराल अवस्थालाई रोक्ने कुरा गर्दै आउनु भएको छ, तपाईंले स–साना रोजगारी दिएर रोकिन्छ र ?
स–साना स्वरोजगार भन्दा पनि सरकारीस्तरबाटै योजना बनाउने काम गर्छु । कुनैपनि काम वा उद्योग खोल्दा सरकारको ५० प्रतिशत र युवाहरुको ५० प्रतिशत लगानीको व्यवस्था गरिदियो भने त्यसलाई संरक्षण गर्ने सरकारको पनि दायित्व थपिन्छ र त्यसले रोजगारी सिर्जना गर्न मद्दत गर्छ । मेरो नीति नियमस्तरमै गएर परिवर्तन ल्याउनु पर्छ भन्ने सोच हो । सरकारको रेखदेखमा कुनैपनि फ्याक्ट्री उद्योगधन्दा चल्यो भने संरक्षण हुन्छ र त्यसको विकास हुन्छ । जसले गर्दा देशमा रोजगारी वृद्धि हुन्छ र विदेश पलायन रोकिन्छ ।
- आफ्नो क्षेत्र घुम्दा प्रमुख के कस्ता समस्या देख्नु भयो ?
यहाँ बाटोघाटोको समस्या छ, कतिपय गाउँका घरमा अझै पनि बाटो पुगेको छैन । बाटो र पानीको व्यवस्थापन ज्यादै कम छ । बीचबीचमा ढलहरु पनि छरपस्ट अवस्थामा छन्, यसबाट पनि विकास चाहिएको छ है भन्ने देखिएको छ । यहाँको अभिभावकलाई हाम्रो काम गर्ने एउटा सांसद छ है भन्ने नै महसुस भएको छैन । सांसदप्रति मतदाताको भोट पाएपछि फर्केर आउनु हुन्न भनेर वितृष्णा छ । त्यसले गर्दा पनि पाँच वर्ष हामीले गाली त गर्छौ यसपाली भोट परिवर्तन गरेर हेरिदिनुस न भन्दाखेरी उहाँहरु मलाई मत दिन सहमत हुनु भएको छ ।
- तपाईको प्रतिस्पर्धी को हुनुहुन्छ ?
मैले प्रतिस्पर्धी नै देखिराखेको छैन । किनकी सांसदमा दुईजनै गठबन्धन भएर बाहिरबाट आउनु भएको हो । उहाँलाई रुकुम रोल्पा छोड्नु पर्ने अवस्था किन आयो ? उहाँले विकासको काम गर्नु भएको थियो भने त रुकुम रोल्पैबाट उठ्नु हुन्थ्यो नि । त्यहाँबाट भागेर यहाँ किन आउनु भयो ? जितपछि फेरि यहाँबाट भागेर अर्को ठाउँमा जानु हुन्न भन्ने के ग्यारेन्टी छ ? त्यस्तै, एमालेको प्रतिस्पर्धी पनि सांसदमा पुगिसकेको व्यक्ति हो । उहाँले पनि के गर्नु भयो, कस्तो नीति निर्माण गर्नुभयो, विकास के गर्नु भयो ? र, मत लिएर जितेपछि जनताको घरदैलो किन जानु भएर अर्थात् जनताको समस्यालाई किन बेवस्था गर्नु भयो ? यसरी दुख सुखमा साथ दिन कसैको घरमा पनि उहाँ त जानु भएको छैन रे ? विकास हेर्दा पनि छरपस्ट छ, उहाँले गरेको पनि केही देखिएको छैन । त्यसैले अहिले यस क्षेत्रमा मेरो प्रतिस्पर्धी नै देख्दिन । हाम्रा यहाँका उम्मेदवार राखेर हेरिदिनु भयो भने, उहाँहरु सांसदमा पुगेर गरेको काम र म नगई गरेको काममा मैले धेरै काम गरेको छु । जनताको प्रतिनिधि नहुँदै मैले जनताको घरदैलोमा गएर तारामण्डल महिला शसक्तिकरण संस्थामार्फत धेरै काम गरेको छु । हामीले केही समय अगाडि नाङ्लेभारेलाई संस्थामार्फत एउटा एम्बुलेन्स दिएका थियौं तर त्यो एम्बुलेन्स बाटो नभएका कारण घरसम्म पनि जान सकेन । यसरी घरमा बाटो पुग्न सम्मको व्यवस्थापन यसअघिका सांसदले गरेका छैनन् ।