प्रतिनिधिसभा सदस्य उम्मेदवार (काठमाडौं क्षेत्र नं.८) बिराज भक्त श्रेष्ठ यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर आफ्नो क्षेत्रका मतदातासँग मत माग्नमा व्यस्त छन् । राजनैतिक पृष्ठभूमिका श्रेष्ठ देशमा भ्रष्टाचार र अनियमितताको अन्त्य गरी सुशासन र सुव्यवस्थापनद्वारा समृद्धि ल्याउनुपर्नेमा जोड दिन्छन्। उनी नेपालका नागरिकलाई जिम्मेवार, सुसंस्कृत र उद्यमशील बनाउनुको साथै हराभरा स्वच्छ वातावरण तथा दीगो बजारको विकास गरी राष्ट्रिय पहिचानका धरोहर सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गर्ने सोचका साथ आफू अगाडि बढेको बताउछन् । पर्यावरण, सांस्कृतिक तथा सामाजिक पूर्वाधारको विकास र देशमै रोजगारीको सिर्जनालगायतका आधारभूत आवश्यकतालाई पूरा गर्ने प्रतिवद्धताका साथ आगामी चुनावी मैदानमा उत्रेका उनी एउटा झिल्कोले पनि परिवर्तन र रुपान्तरण गर्न सक्छ भनेर यसपटक निर्वाचनमार्फत प्रतिनिधिसभामा प्रवेश गरी समाजमा आमूल परिवर्तन ल्याउने प्रयासमा अग्रसर देखिन्छन् । यसअघि बाग्मती प्रदेशसभा सदस्य रही वातावरण, संस्कृतिको संरक्षण, सम्वद्र्धका साथै विकास निर्माणका कार्यमा संलग्न रहिसकेका उनी एक जागरुक तथा सक्रिय युवा उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । नेपाली कांग्रेसका चर्चित नेता वीरेन्द्रभक्त श्रेष्ठका भतिजा र कांग्रेसकै अर्का होनहार कार्यकर्ता विकासभक्तका सुपुत्र उनी यसपटक क्षेत्र नं.८ मा प्रजातन्त्रवादी उम्मेदवार अरु नभएकोले आफूले प्रजातन्त्रवादीहरुको मत प्राप्त भै विजय हुने कुरामा विश्वस्त रहेको बताउछन् । प्रस्तुत छ मंसिर ४ गतेको चुनावी अभियानको सेरोफेरोमा रहेर उनै श्रेष्ठसँग गरिएको कुराकानीको सारसंक्षेप :
- तपाईं अप्रत्यासित राजनीतिमा आउनुको कारण के ?
म राजनीतिबाट आकर्षित भएर राजनीतिमा लागेको होइन, बाध्यतावस आएको हो । हामीले पहिले देखि नै फोहोरी राजनीति देख्दै आएका छौं । देशमा केही न केही गरौं भन्दा पनि अवसर नपाएर करिब ८० लाख जनसंख्या भारत र खाडी मुलुक जान बाध्य छन् । त्यसैगरी, २०७२ सालको भूकम्पमा भएको मानवीय तथा भौतिक क्षतिप्रति सरकारले खासै चासोका साथ काम गरेको छैन् । यसरी मानव जीवनसँग सम्बन्धित साधारण किसिमका थुप्रै गर्नुपर्ने कामसमेत नगरिएबाटै थाहा हुन्छ, हाम्रो राज्यप्रणाली कति कमजोर छ भनेर । ३० वर्ष अघिको पुस्ताले राम्रो किसिमले राजनीति गरिदिएको भए, आज हामी राजनीतिमा छिर्नुपर्ने बाध्यता हुँदैन थियो । यो २१औं शताब्दिमा सिस्टमदेखि हरेक कुरा कहाँदेखि कहाँ पुगिसकेको छ तर हामी कहाँ स्थानीयस्तरमै हुनुपर्ने अतिआवश्यकताका कामहरु समेत भएका छैनन् । त्यसैले स्थानीयस्तरदेखि नै तुलनात्मक लाभका कुरा हुनुपर्छ भन्ने लागेर नै राजनीतिमा आएको हो । र, हामीले आफू हुर्के बसेको ठाउँमा केही न केहि राम्रो काम गर्न सकेनौं भने हामी अघिका पुस्ताले समेत न्याय पाउदैनन् ।
- अहिलेको समयमा युवा उम्मेदवारलाई विशेष प्राथमिकताका साथ मतदान गर्छन् भन्ने लागेर चुनावमा भाग लिनु भएको हो ?
होइन, होइन । मैले आफ्नो क्षेत्रका मतदाताका समस्यालाई महसुस गरेको छु । यदि सक्षम मान्छे भयो भने ७० वर्षको पनि ठिक हुन्छ यदि सक्षम मान्छे छैन भने २१ वर्षको पनि ठिक हुँदैन । त्यसैले उमेरको, लिङ्गको राजनीति गर्नु हुँदैन । कामको उत्कृष्टतालाई प्राथमिकता दिनु पर्छ । मान्छेसँग भएको अनुभव पनि राष्ट्रको सम्पत्ति हो, जुन अवकासपछि पनि राष्ट्रसेवक हाम्रा कर्मचारीहरुको अनुभव देश निर्माणमा चाहिन्छ । त्यसैले म उमेरको राजनीतिमा विश्वास गर्दिन । म जुन उमेरको पनि सक्षम बन र राजनीतिमा जाऔँ भन्छु । लहलहैमा लागेर अर्थात् भारतको नायक फिल्म हेर्दैमा म देशको नेता हुन्छु भन्ने नेता अब हामीलाई चाहिदैन ।
- अहिलेको उम्मेदवार दिनुभन्दा अगाडि के गर्नु हुन्थ्यो ?
यसअघि म बाग्मती प्रदेशसभा सदस्य(विवेकशिल साझा पार्टीबाट) थिए । पाँच वर्ष निष्ठाका साथ आफ्नो कार्यकाल पूरा गरेको छु । मैले मानवशास्त्र र समाजशास्त्रको विषयमा धेरै अध्ययन गरेकाले राजनीतिमा आउनुअघि वसन्तपुरलगायत क्षेत्रमा १७ वर्षजति पर्यटन व्यवसाय गरे । त्यतिबेला मैले नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदा कत्तिको महत्वपूर्ण अर्थात् अमूल्य हुन्छ भन्ने कुरा बुझ्ने मौका पाएको थिए । र, विदेशी पर्यटकहरुलाई मेरो देशको संस्कृति र सम्पदाको बारेमा बुझाउन पनि पाए ।
- पार्टी परिवर्तन गर्नु अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्नुको कारण ?
म राष्ट्रिय स्वतन्त्र पार्टीमा औपचारिक रुपमा संलग्न छैन । पार्टीको चिन्ह मात्र सदुपयोग गर्दैछु । र, ठूलो पार्टीहरुमा ठूलै नेताहरु मात्र जाने चलन छ । म पहिला विवेकशील साझा पार्टीमा थिए । र, पार्टी भित्रका अन्तरद्वन्द्व देखेर त्यहाँ बस्न सकिएन । त्यहाँ छोडेपछि स्वतन्त्र रुपमा जाऔँ या आफ्नै पार्टी निर्माण गरेर जाऔँ भन्ने सोचमा थिए । निर्वाचन घोषणा भएपछि पार्टी दर्ता नहुँदो रहेछ । पहिला स्वतन्त्र बस्छु भन्ने लागेको थियो, पछि हैन केहि विचार मिल्नेसँग जानुपर्छ भनेर पार्टीमा गएको हो । मलाई स्वतन्त्र पार्टीभित्र जिम्मेवारीको अवसर दिने कुरा पनि आएको थियो । तर, मैले अहिले होइन, तपाईंहरु नयाँ हुनुहुन्छ, पहिला वैचारिक र सैद्धान्तिक स्पष्टता होस भन्ने लाग्यो । हाम्रो समुह, अभियान र आक्रोशको आवाज भएकाले यो चुनावपछि स्वतन्त्र पार्टीले हाम्रो आन्दोलनको सम्बोधन गर्नुपर्छ । यदि पार्टीले अभियान र आक्रोशलाई सम्बोधन गर्न सकेन भने स्वतन्त्र पार्टीमा रहदैनौं र हामी आफ्नै पार्टी गठन गर्छौ ।
- बाग्मती प्रदेशसभा सदस्य भएर आफ्नो कार्यकालमा गर्नुभएको मुख्य कामहरु के के थिए ?
मेरो पहिलो काम गुठी विधेयकविरुद्धको आन्दोलनलाई प्रदेशसभामा ध्यानाकर्षण गराएको थिए । र, त्यस विधेयकलाई स्थापित गरियो । अर्को, ०९० सालमा राणाहरुले मासेको संस्कृतिक डबली(इन्द्रचोकको)लाई बिउताउन सफल भइयो । त्यस्तै, वाङ्वाडपु र विष्णुमति किनारमा दुव्र्यसनीहरुले प्रयोग गरिराखेको दुर्गन्धित ठाउँ अर्थात् चोरीको मूर्ति लुकाउन प्रयोग भइराखेको ठाउँलाई हरियाली पार्कको रुपमा विकसित गर्न सक्यौं । अहिले सो ठाउँ खुल्ला क्षेत्रको महत्वको रुपमा स्थापित छ । यसअघि भुइचालोमा स्थानीयस्तरका मान्छेहरुको गाँसबासकै ठेगान नभएको बेला खुल्ला ठाउँ नभएर धेरै सास्ती खेप्नु परेको थियो । त्यस्तै, टंगेश्वर कालिमाटीमा ट्राफिक लाइट जडान गर्यौ । जुन, संचालन गर्न राजनीतिक चुनौतीहरु भएको थियो । नीतिगत रुपमा भन्नुपर्दा म पर्यावरण तथा वातावरणको मुद्दा लिएर राजनीतिमा लागेको हो । प्रदेशमा वातावरणको विधेयकमा पाँच वटा संशोधन सर्वसम्मती रुपमा समितिमा स्वीकृत गराएर आजको दिनमा त्यो नेपालको कानुन बनेको छ । त्यस्तै, मुख्य न्यायधिवक्ताको काम, कर्तव्य, अधिकार र अहिलेको व्यवस्थालाई कसरी बलियो बनाउने भन्ने मुद्दाहरु मैले प्रदेशसभामा उठाएको छु । नेपाल भाषा र तामाङ भाषालाई भाषा आयोगको सिफारिस अनुसार प्रदेश सरकारको कामकाजको भाषाको रुपमा हुनुपर्छ भन्नेमा जोड दिएको छु । जुन, राजपत्रमै आइसकेको छ । यो मुद्दा पनि मुख्यमन्त्रीजी र मैले उठाएपछि सम्बोधन भएको थियो ।
- तपाईका चुनावी एजेण्डाहरु के छन् अर्थात् जितेको खण्डमा के के गर्नुहुन्छ ?
ट्राफिक व्यवस्थापन, सुशासन, स्वास्थ्य क्षेत्रको समस्या समाधानलगायतका प्रमुख एजेण्डाका कामलाई गरेरै छाड्छु । काठमाडौं क्षेत्र नं.८ नेपालको उत्कृष्ट ट्राफिक व्यवस्थापन भनेर नजिर स्थापित गर्छु । किनभने मेरो स्थानीय जनप्रतिनिधिहरुसँग राम्रो सम्बन्ध भएकाले उहाँहरुसँग समन्वय गरेर र पहिलादेखिकै अनुभव अनुसार नै काम गर्छु । कहाँकहाँ वान–वे बनाउने, ट्राफिक लाइट राख्ने र जेब्रा क्रसिङ गर्ने आदि कुराहरुलाई ध्यान दिएर व्यवस्थित रुपमा काम गर्छु, जसलाई देखेर देशले नै सिकोस । किनकि अहिलेको काठमाडौं ट्राफिक व्यवस्थापन काठमाडौंवासी सबैको लागि समस्याको विषय हो । यस क्षेत्रमा सांस्कृतिक मूर्त अमूर्त सम्पदाहरुको अभिलेखीकरण राख्ने लगायत प्रवद्र्धन गर्ने र सम्बन्धित संस्कृति तथा सम्पदासँग आवद्ध स्थानीयहरुलाई अपनत्व अर्थात् राज्यले गर्नुपर्ने दायित्व पूरा गराउन पहल गर्छु । फोहोर व्यवस्थापन, स्वास्थ्यको विषयहरु पनि छन् । यो क्षेत्र भन्न मात्र सहर हो तर यहाँका वासिन्दाहरुले संविधानले नै शुनिश्चित गरेको स्वास्थ्य सेवा सुविधाहरु पाइराखेका छैनन्, जसलाई सुनिश्चित गर्छु । खुल्ला ठाउँहरुको संरक्षण प्रवद्र्धन गर्ने र सहरी गरिबी निवारणमा मुख्य भूमिका खेल्छु ।
- जित्छु भन्नेमा कत्तिको ढुक्क हुनुहुन्छ र मतदाताबाट कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ ?
मतदातासँग प्रत्यक्ष भेटघाटमा मात्र व्यस्त नभएर हाम्रो समुहले क्षेत्र नं.८ को अध्ययन अनुसन्धान गरेका थियौं । जसले गर्दा मतदाताहरुले के चाहनु भएको छ भन्ने कुरा हामीले राम्ररी बुझेका छौं । र, मतदाताले ठूलठूला माग राख्नु पनि भएको छैन । उहाँहरुले धुलो धुवाँ नहोस्, पर्यावरण राम्रो होस, फोहोरको व्यवस्थापन राम्रो होस, सार्वजनिक यातायात सहज होस लगायतका स–साना कुराहरु माग्नु भएको छ । यहाँ धेरै ठाउँमा पानीको समस्या छ । यी चिजहरु सम्बोधन गर्न सकिने हाम्रो अध्ययन अनुसन्धान एउटा आधार भएको छ । र, म यही जन्मेहुर्केको ठाउँ भएकोले कुन घर वा टोलमा के समस्या छ, मन्दिरको अवस्था के कस्तो छ, कहाँ बाटोको समस्या छ, के असुरक्षित छ वा कहाँ असुविधा छ भन्ने सबै कुराको जानकार छु । नीतिगत अभ्यास गरेर आएको मान्छे हुँ अर्थात् प्रदेशसभामा प्रतिपक्षमा बसेर सरकारलाई नीति निर्माणमा जवाफदेही र खबरदारी गरेर आएको छु । जुन कुरा, हाम्रो क्षेत्रका मतदाताहरु सञ्चारमाध्यमदेखि लिएर सामाजिक सञ्जालमार्फत जानकार हुनुहुन्छ । मेरा यि बलिया आधारले गर्दा मेरा प्रतिद्वन्द्वीहरु म जति स्पष्ट रुपमा प्रस्तुत हुन सक्नु भएको छैन । त्यसैले, मलाई मतदाताप्रति पूर्ण विश्वास छ ।
- तपाईंको क्षेत्रका अन्य उम्मेदवारले पनि जनताका समस्यालाई नै सम्बोधन गर्ने भन्नु भएको छ, उहाँहरुको भन्दा के फरक देखाउन खोज्दै हुनुहुन्छ ?
फरक भनेको जब विश्वले जलवायु परिवर्तनलाई ठूलो मुद्दा मानिराख्दा मैले सन् २००७ देखि यस विषयमा काम र अध्ययन गर्दै आएको थिए । तर, नेपालमा डोजरी विकासलाई नै विकास भनियो । जलवायु परिवर्तन हामी सबैको मुद्दा हो । हाम्रो समुहले गहिरो अध्ययन गरेर निजगढको जंगल मासेर विमानस्थल बन्नु हुँदैन भनेको थियो । विश्वका प्रदुसित सरहमध्ये काठमाडौं पनि एक हो । विष्णुमती फोहोर र दुर्गन्धित छ । हाम्रा प्राचीन ढुंगेधारा, इनारहरु मासिदैँ गएको छ । काठमाडौंवासीले पानी खान पाइराखेका छैनन् । मेलम्ची ल्याउने भनेर २२ वर्ष हामीलाई धुलो खुवाइएर राखियो । यी सबै विषयमा मैले गहिरो अध्ययन गरेकाले यससम्बन्धका समस्या र समाधान दुबै गर्ने छु ।
- यस क्षेत्रमा तपाईको मुख्य प्रतिद्वन्द्वी को हो ?
मेरो मुख्य प्रतिद्वन्द्वी देशको बेथितीलाई ठान्छु । युवाहरु विदेश पलायन हुनुपरेको छ, त्यसलाई ठान्छु । व्यक्ति प्रतिद्वन्द्वी भनेको त त्यो संकीर्ण सोच हो । कसैलाई हराएर जित्छु भन्ने सोचले भन्दा पनि काम गरेर सबै सर्वसाधारणको मन जित्ने राजनीति गर्न आएको हो । त्यसैले मेरो मुख्य प्रतिद्वन्द्वी भनेको देशको वेथिती, भ्रष्टाचार, कुशासन नै हो ।