नेपाली कांग्रेस(बी.पी.) पार्टीका उम्मेदवारत्रय काठमाडौं क्षेत्र नं.१० का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्त प्रसाद श्रेष्ठ, क्षेत्र नं.१० प्रदेश‘क’ का उम्मेदवार जयराम कार्की र क्षेत्र नं.१० कै समानुपातिक उम्मेदवार सम्पूर्ण बलामी सो क्षेत्रका स्थानीय बासिन्दा पनि हुन् । चुनाव चिन्ह करुवा लिएर चुनावी मैदानमा होमिएका उनीहरुले आफूहरुको उम्मेदवारी स्थानीय जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीमा पहुँच पुर्याउनुको साथै पर्यटन क्षेत्रको विकास र विस्तार गर्नको लागि भएको बताएका छन् । यसअघि नेपाली कांग्रेसमा रहेर आफ्नो क्षेत्रको विकासको लागि काम गर्न नकसकेकाले बीपी कांग्रेस पार्टीमा जान बाध्य हुनुपरेको उनीहरुले सुनाएका छन् । उम्मेदवार श्रेष्ठ भन्छन्, ‘विगत लामो समयदेखि कांग्रेस पार्टीमा रहेर पनि जनताको इच्छा आकांक्षानुसार कामहरु गर्न नसकेकाले र ठूला नेताहरुले यस क्षेत्रको विकासलाई चासो नदिएको हुनाले बीपी कांग्रेसमा आएर जनताको इच्छा आकांक्षाहरु पूरा गर्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिएको हुँ । त्यस्तै, संघ संस्थामार्फत समाज अनुकूल धेरै राम्रा काम गरेका उम्मेदवार कार्कीले नेपाली कांग्रेसमा रहेर स्थानीय क्षेत्रको विकासको काम गर्न नसकेको सुनाए । उनले भने, ‘यहाँका दाजुभाई लगायत सबैलाई थाहा छ, मैले यो क्षेत्रको जनताको लागि खानेपानी, रोजगारी आदि क्षेत्रमा कत्तिको काम गरेको छु भनेर । तर, मैले कांग्रेस पार्टीमा रहेर पनि कीर्तिपुर, दक्षिकाली, चन्द्रागिरी नगरपालिकाका विद्यार्थीलाई छात्रवृत्तिलगायत सुविधामा संलग्न गराउन सकेको छैन । यसरी कांग्रेस पार्टीमा बसेर काम गर्न खोज्दा पनि नसकेकाले पार्टी परिवर्तन गरेर आफ्नो क्षेत्रको जनताको काम गर्ने विचारले बीपी कांग्रेसमा आएको हो ।’ त्यसैगरी, भर्खर मात्र बीपी कांग्रेसमा गएको बताउने स्वतन्त्र उम्मेदवार बलामी पनि चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली गरी तीन वटै नगरपालिकालाई जोड्ने गरी साइक्लिङ रुट र हाइकिङ्ग रुट बनाउने प्रयासमा छन् । उनले जितेको खण्डमा आफ्नो क्षेत्रलाई पर्यटक हव बनाउनेमा आफू खटिने बताएका छन् । यसरी नेपाली कांग्रेसमा बसेर जनताको काम गर्न नसकेकाले बीपी कांग्रेसमा गएको बताउने उनीहरुमध्ये प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठसँग गरिएको कुराकानी यस्तो छ :
- चुनाव लड्न के के एजेण्डा सार्नु भएको छ ?
यहाँको सामाजिक कार्यहरुमा महिला हक अधिकारका कुराहरु, वृद्धहरुले पाउने सेवा सुविधा, बाटोघाटो, बिजुली बत्ती, पानीलगायत हरेक ठाउँअनुसारका समस्यालाई पूरा गर्ने एजेण्डा लिएर गएका छौं । कीर्तिपुर क्षेत्रमा पानीको समस्या छ, यहाँको जनतालाई पानी खुवाउनै पर्छ भन्ने हाम्रो मूल एजेण्डा छ । दक्षिणकाली पर्यटकीय क्षेत्र हो । तर, त्यहाँ पर्यटकीय क्षेत्र भनेर सूचीकरण गरिएको छैन, त्यसलाई पर्यटक क्षेत्र घोषणा गरी सूचीकरण गर्नुपर्छ भन्ने हाम्रो मूल एजेण्डा छ । चन्द्रागिरीमा पर्यटकीयले भरिपूर्ण रमणीय स्थलहरु, धर्मसँग जोडिएका कला संस्कृति, मठ मन्दिरलाई पनि सूचीकरण गर्नेमा हामी लाग्दै छौं । विश्वप्रसिद्ध तीर्थस्थल भनेर चिनीने चन्द्रागिरी मातातिर्थ कुण्ड जसलाई राष्ट्रिय सूचीकरण गरिएको छैन । कीर्तिपुरको बाघ भैरव, चम्पादेवी मन्दिर, दक्षिणकाली मन्दिरलगायत प्रख्यात मन्दिरहरुलाई राष्ट्रिय सूचीकरण गर्नुपर्छ भन्ने हाम्रो मूल एजेण्डा हो ।
- तपाईंको उम्मेदवारीप्रति यहाँका जनताको कस्तो प्रतिक्रिया पाउनु भएको छ र जित्ने आधार के के छन् ?
हरेक जनतामा नयाँ परिवर्तनको आवाज उठिराखेको अवस्था छ । पटक पटक नेताहरुलाई जिताएर पठायौं तर उहाँहरुले कुनै पनि विकासका कामहरु अर्थात योजनाहरु ल्याएको अवस्था छैन र तपाईंहरु अगाडि बढ्नु पर्छ भनेर बीपी कांग्रेसलाई धेरै साथ र सपोट गरिराख्नु भएको अवस्था छ । अहिले करुवा चिन्हमा भोट हाल्छौं भनेर जनताको अत्यधिक मात्रामा आवाज उठिराखेको छ ।
- चुनाव जित्नु भयो भने जनताका लागि गर्नुपर्ने के के कामलाई प्राथमिकता दिनुहुन्छ ?
शिक्षामा, जुन त्यत्रो ठुलो कीर्तिपुर त्रिभुवन विश्वविद्यालय जहाँ चन्द्रागिरी, दक्षिणकाली नगरपालिका अर्थात कीर्तिपुरकै विद्यार्थीहरु स्कलरसिपमा पढ्न पाइराखेका छैनन । त्यस्तै, दक्षिणकालीमा पनि इन्जिनियर कलेज स्थापना गर्न सकिन्छ र त्यहाँ पनि स्कलरसिपमा आर्थिक अवस्था कमजोर भएका योग्य विद्यार्थीलाई पढाउने भन्ने लक्ष्य छ अर्थात चन्द्रागिरीमा पनि कलेज स्थापना गरेर स्कलरसिप दिन सक्छौं । त्यस्तै, स्वास्थ्य क्षेत्रमा सेवा सुविधा दिने सोच बनाएका छौं । दक्षिणकालिका अस्पतालहरुलाई सरकारले बेवास्ता गरेको अवस्था छ । हाम्रो जितपछि अस्पताललाई सुविधा सम्पन्न बनाएर सर्वसाधारणलाई सौहुलियत दिनेमा प्रयास गर्ने छौं । त्यस्तै, रोजगारको व्यवस्थाहरु गर्ने छौं । अहिले जतिपनि युवाहरु खाडी मुलुकमा विदेशीमा वाध्य भएका छन् त्यसको लागि यस क्षेत्रमा पनि उद्योगधन्दा खोलेर क्षमतानुसार अवसर दिने छौं । यो क्षेत्रमा पर्यटन क्षेत्रको विकास गरी विदेशीहरुलाई आकर्षण गर्न सक्छौं । जसले गर्दा यहाँका युवाहरुलाई रोजगारी प्रयाप्त मात्रामा दिन सकिन्छ, जुन हामी गर्छौ ।
- पर्यटकको लागि कस्तो योजना छ ?
यो क्षेत्रमा रमणीय डाडाकाडा छन् । टौदहलगायत धेरै प्राकृतिक सौन्दर्यका चिजहरु छन् । यसको संरक्षण र सम्बद्र्धन गरेर स्वदेशी र विदशी पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ भनेर हाम्रो पार्टी लागि परेको छ ।
- तपाईको जित कत्तिको सुनिश्चित छ ?
मेरो प्रतिस्पर्धी भनेको, नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेसँग जोडदार भिडन्त हुन्छ । मेरो मुख्य प्रतिस्पर्धी कांग्रेस नै हो । विशेश्वर प्रसाद कोइरालाले २००३ सालमा जन्माएको कांग्रेस अहिले आएर सानेपा कांग्रेस बनिदियो । सानेपा कांग्रेस अहिले शेरबहादुर देउवाजीको एउटा कम्पनी भइदिएको छ । त्यो कम्पनी त उहाँकै अनुसार चल्ने भयो त्यसपछि बीपीको आर्दश, सिद्धान्त, विचार त हुने भएन । बीपीको एउटा फोटोमा माल्यार्पण गरिदिने र उहाँकै सिद्धान्त बोकेर हिडेका छौं भन्नु हुन्छ उहाँहरु । अहिले हाम्रो क्षेत्र नं. १० मा पनि उहाँहरु(नेपाली कांग्रेस)को एउटा कम्पनी मात्र स्थापना भएको छ भन्ने सबैले बुझेका छन् । त्यसकारण बीपीको सपना, सिद्धान्त बोकेर हिड्नु हुने नेपाली कांग्रेसका कार्यकर्ताहरुसँग म आह्वान गर्न चाहन्छु सच्चा कांग्रेस हो भने तपाईहरु बीपी कांग्रेसमा आउनुस् भनेर ।