काठमाडौं, चैत ३ । आइतबार साँझ भएको भिडियो सम्मेलनमार्फत सार्वजनिक सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूले कोरोना भाइरस (कोभिड–१९)विरुद्ध साझा युद्ध गरी जित्ने वाचा गरेका छन् । कोरोनाविरुद्ध साझा रणनीति तय गर्न ‘भिडियो कन्फरेन्स’मार्फत दक्षिण एसियाली मुलुक एकजुट भएका हुन् ।
गत चार वर्षदेखि हुन नसकेको सार्क शिखर सम्मेलनको तीतो बिर्साउने गरी भएको भिडियो सम्मेलनले सार्क अरू बेला मात्र होइन संकटको बेला पनि एकजुट हुने क्षमता राख्छ भन्ने सन्देश विश्वमाझ दिन सफल भएको छ । साथै, भिडियो सम्मेलनमार्फत सार्वजनिक सार्क मुलुकको यो ऐक्यबद्धता विश्वकै लागि नमूना उदाहरण बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क मुलुकको सामुहिक प्रयासले नै यस क्षेत्रका लागि कोरोना विरुद्धको निर्माण हुने बताएका छन् । सार्क भिडियो सम्मेलनमा प्रधानमन्त्री ओलीले हाम्रो सामुहिक ज्ञान र प्रयोगले कोरोनाविरुद्ध लड्न यस क्षेत्रका लागि बलियो रणनीति बनाउन सक्ने बताए । नेपालमा कोरोना संक्रमण रोक्न केन्द्रीय तथा प्रदेशस्तरमा अनुगमन संयन्त्र गठन गरी सरकारले काम गरिरहेको जानकारी समेत उनले अन्य मुलुकलाई गराए । ‘हामीले केन्द्रदेखि स्थानीय तहसम्म तयारी गरेका छौं र राष्ट्रियस्तरमा त्यसको मैले आफैं निरीक्षण गरिरहेको छु’, प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै, भिडियो कन्फरेन्सको अगुवाइ गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको इमानदार सहकार्यको खाँचो रहेको बताए । ‘महामारीको यो युद्ध हामीले सँगै लड्नु र जित्नु छ । दक्षिण एसियाली सहकार्यलाई दुनियाँमा नमुना बनाउनु पनि छ । यसमा हामी सबैको इमानदार सहकार्य खाँचो छ’, मोदीले भने । भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाका कुनै पनि देशले कुनै पनि बेला प्रयोग गर्ने गरी कोभिड–१९ आपत्कालीन कोषमा एक करोड अमेरिकी डलर सहायता घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएका छन् भने सार्कका अरू नेताले पनि आपसी सहयोग र सहकार्यमा जोड दिएका छन् ।
बंगलादेश र पाकिस्तानले सार्क राष्ट्रका स्वास्थ्यमन्त्रीहरूको सम्मेलन अपरिहार्य रहेको जनाएका छन् । बंगलादेशकी प्रधानमन्त्री हसिनाले स्वास्थ्यमन्त्रीहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै सो कदमको स्वागत गरिन् । उनले आफ्नो मुलुकको तयारी सुनाउँदै सहकार्यले नै यस्ता महामारीविरुद्ध लड्न सक्ने उल्लेख गरिन् । श्रीलंकाका राष्ट्रपति राजापाक्षले, ‘हामी सहकार्य गरेरै अघि बढ्नुपर्छ । छरिएर आफैं सक्छु भनेर हुँदैन’, भने । अफगानिस्तानका घानीले पनि सार्कमा सबै राम्रो तर सहकार्य कम रहेको बताए । भुटानका प्रधानमन्त्री लोटेले सार्कको विशेषता भनेकै सहकार्य रहेको बताए । सार्कले सहकार्यमा ढिलाइ गर्न नहुने धारणा माल्दिभ्सका राष्ट्रपतिको थियो । पाकिस्तानका स्वास्थ्यमन्त्री मिर्जाले सार्क राष्ट्रबीचको यो सहयोग आदानप्रदान गर्न सार्क सचिवालयले भूमिका खेल्न सक्ने बताए । भारतले लामो समयदेखि जम्मु कश्मीरमा इन्टरनेटलगायतमा प्रतिबन्ध लगाएको र आउजाउमा बाधा गराएको उनको गुनासो थियो । त्यस्ता विषयमा पनि ध्यान दिन उनले आग्रह गरे । उनले कोरोना भाइरस नियन्त्रणका लागि जम्मु कश्मीरमा लगाइएको प्रतिबन्ध हटाउनसमेत भारतलाई आग्रह गरे । प्रधानमन्त्री मोदीले दिल्लीबाट सञ्चालन गरेको उक्त भिडियो कन्फरेन्स एक घन्टा ३५ मिनेट चलेको थियो ।
अहिले सार्क पर्यवेक्षक मुलुक चीनको हुपै प्रान्तको वुहानबाट फैलिएको कोरोनाका कारण विश्वभर ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । यसविरुद्ध लड्न सहकार्य गर्नुलाई सबै सदस्य राष्ट्रले सकारात्मक लिएका छन् ।