काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेको हो ।
ओली नेतृत्वको सरकारमा केही नयाँ र केही पुराना अनुहारले मन्त्री बन्ने अवसर पाएका छन् । मन्त्रिपरिषद् पुनर्गठनको राष्ट्रपति कार्यलयमा सिफारिस पठाइए पनि नयाँ मन्त्रीको शपथ ग्रहण कार्यक्रम भने आज बिहान गरिने भएको छ । हृदयेश त्रिपाठी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् भने घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्री बनेका छन् । लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिइएको छ भने रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् भने पार्वत गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाइएको छ । त्यसैगरी मोती दुगड, रामवीर मानन्धर र नवराज राउत राज्यमन्त्री बनेका छन् । दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका छन् भने रामवीरलाई सहरी विकास राज्यमन्त्री र रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।
त्यसैगरी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, सहरी विकासमन्त्री इस्तियाक राइ यादव र खानेपानीमन्त्री विना मगरलाई यथावत् राखिएको छ ।