काठमाडौं, भाद्र २३ । आज आयोजित विदेशमन्त्रीस्तरीय नेपाल–चीन संयन्त्रको बैठकमा नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर भएको छ । राजधानीको होटल याक एन्ड यतिमा भएको परराष्ट्र मन्त्रिस्तरीय बैठकमा ती तीन समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतामा चीनले नेपाललाई आपतकालीन अवस्थाको तयारी स्वरूप पाँच हजारवटा पाल दिने, मनाङमा करिब ३५ करोड लगानी बराबरको अस्पताल बनाइदिने र नेपालमा चिनियाँ भाषा पढाउन स्वयंसेवक शिक्षक पठाउने रहेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यीको उपस्थितिमा दुई देशका अधिकारीहरूले सो सम्झौतापत्र अदानप्रदान गरेका थिए । तीन दिनका लागि नेपाल भ्रमणमा आएका चीनका विदेशमन्त्री वाङ यीको प्रतिनिधिमण्डल र नेपालका समकक्षी प्रदीपकुमार ज्ञवालीको प्रतिनिधिमण्डलबीच आज बैठक बसेको थियो । वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएपनि जम्मा तीन सम्झौतामा हस्ताक्षर भएको हो । सो वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताइएको थियो ।
वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी थिए । चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए)का उपाध्यक्ष, विदेशमन्त्रालयको एशिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी भएका थिए ।
त्यसैगरी, सम्झौतामा हस्ताक्षर गरेपछि विदेशमन्त्री वाङ यी प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच ‘वान टु वान’ वार्ता भएको हो । चिनियाँ नेता वाङको यस पटकको भेटवार्ता मदन भण्डारी विश्व विद्यालय, कोदारी राजमार्गको धुलिखेल–कोदारी खण्डको स्तरोन्नती, रसुवागढी–ठोरी करिडोरमा टोखा–छहरे सुरुङमार्ग एवं बेत्रावती–स्याफ्रुबेसी खण्डको स्तरोन्नती गरी तीन मुद्दामा केन्द्रित रहेको बताइएको छ ।