काठमाडौं, भाद्र १८ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सांसद गगन थापाले विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका छन् । आज संसदमा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै सांसद थापाले यस्तो आग्रह गरेका हुन् ।
साथै, उनले विदेश उपचार गर्नु परेमा सरकारले उपचार खर्च नव्यहोर्ने कानुन पालना गरेकोमा धन्यवादसमेत दिए । तर, प्रधानमन्त्रीको उपचारबारे सरकारले संसदलाई यथार्थ जानकारी नगराएको भन्दै असन्तुष्टि जनाए । प्रधानमन्त्रीका निजी चिकित्सकलाई उद्धृत गर्दै आएका समाचारहरुका आधारमा स्वास्थ्य सुधार उन्मुख रहेको अनुमान लगाउन सक्ने भन्दै उनले सम्पूर्ण सुधारको कामना गरे । उनले अघि भने, ‘मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको सक्रियता, इच्छाशक्ति र योगदान संसारका लागि नमूना बनोस् ।’
तर केही चिकित्सकले संकेत गरेको जस्तो पटकपटक विदेश गएर वा विश्राम लिएर उपचार गर्नु पर्ने भए के गर्ने भन्ने प्रश्न उठाए । प्रधानमन्त्री आलंकारिक पद नभएको र पछिल्लो समय कार्यबोझसमेत बढाइएको भन्दै उनले भने, ‘उहाँले यो सबै गर्ने इच्छाशक्ति राख्नुहुन्छ भन्नेमा दुईमत छैन । तर इच्छाशक्ति मात्र सबै कुरा होइन । शारिरीक स्वास्थ्यले पनि धेरै कुरा निर्धारण गर्छ ।’
प्रधानमन्त्री राष्ट्रिय सुरक्षा, अखण्डता, सार्वभौमसत्ताको कस्टोडियन भएको भन्दै सांसद थापाले भने, ‘कार्यकारी प्रमुख एकै पटक लामो समयसम्म देश बाहिर बस्दा राष्ट्रिय सुरक्षा, कूटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न त छँदैछ, प्रत्येक दुई–तीन महिनामा १०–१२ दिन विदेश गएर टेलिप्रिजेन्टमार्फत मन्त्रीहरुको ब्रिफिङ लिएर देश चलाएर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।’
सत्तारुढ नेकपासँग बहुमत भएको र पार्टीमा प्रधानमन्त्री भइसकेका र हुने इच्छा राख्ने व्यक्तिहरु पनि भएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई किन विश्राम दिन नचाहेको भन्ने प्रश्न गरे ।