काठमाडौं, भाद्र १२ । नेपाल–भारत संयुक्त सीमा कार्यदलको छैटौं बैठक बुधबार भारतको देहरादूनमा सुरु भएको छ । बैठकमा दुवै देशका प्रतिनिधिले चालीस वर्षअघि सुरु भएको सीमांकनको कामलाई टुंगोमा र्पुयाउनेबारे छलफल गर्नेछन् भने हालसम्म भएका कामको समीक्षा गर्नेछन् ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले नेतृत्व गरेको नेपाली टोलीमा परराष्ट्र मन्त्रालय र सशस्त्र प्रहरीका अधिकारी संलग्न रहेको खगोल तथा भूमापन महाशाखा प्रमुख निर्मल आचार्यले बताए । भारतीय पक्षको नेतृत्व भने सर्भे अफ इन्डियाका महानिर्देशक लेफ्टिनेन्ट जनरल गिरीश कुमारले गरेका छन् ।
नापी विभागका अनुसार तीन दिन चल्ने बैठकमा दशगजा क्षेत्रमा हालसम्म राखिएका ८ हजारभन्दा बढी जंगे पिलर र नाप नक्सासम्बन्धी कामको मूल्यांकन हुनेछ भने बाँकी सीमांकनको काम कसरी अघि बढाउने भन्नेबारे सहमति खोजिनेछ ।
दशगजामा गाडिएका अधिकांश जंगे पिलर हराएको र नेपालको भूभाग अतिक्रमणमा परेको गुनासो उठेपछि दुवै देश पुनः सीमांकन गर्न सन् १९८० मै तयार भएका थिए । नापी विभागका निमित्त प्रमुखसमेत रहेका जोशीका अनुसार त्यसै बेलादेखि सुरु भएको सीमांकनको काम बीचमा आएर रोकिएको थियो ।
भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि सीमांकनको बाँकी काम सुचारु भएको हो । नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको तेस्रो बैठकमा भारतीय टोलीको नेतृत्व गरेर काठमाडौं आएकी तत्कालीन विदेशमन्त्री सुषमा स्वराज सीमांकनको काम अघि बढाउन सहमत भएपछि संयुक्त सीमा कार्यदल गठन भएको थियो । कार्यदल बैठक हरेक वर्ष पालैपालो दुवै देशमा बस्दै आएको छ ।
नेपालका २२ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । यी सबै जिल्लाका दशगजामा पाँच वर्षदेखि दुवै पक्षले मंसिरदेखि वर्षा नलागुन्जेल संयुक्त टोली खटाएर सीमास्तम्भ कायम गर्दै आएका छन् । सुनसरीदेखि झापासम्म एउटा टोली, चितवनदेखि सुनसरीसम्म अर्को टोली र नवलपरासीदेखि पश्चिमका जिल्लामा तेस्रो टोलीले संयुक्त रूपमा सीमास्तम्भ कायम गर्दै आएको छ ।
गत वर्ष काठमाडौंमा बसेको सीमा कार्यदलको पाँचौं बैठकले सीमास्तम्भमा जीपीएस संयन्त्र जडान गरी स्याटलाइटमार्फत निरीक्षण गर्न मिल्ने प्रविधिका बारेमा अनुसन्धान गर्ने सहमति गरेको थियो । संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले गत साता सरकारलाई सीमा सुरक्षा गर्न दिएको निर्देशनमा पनि स्याटलाइटमार्फत सीमा निरीक्षण गर्ने प्रबन्ध मिलाउन भनिएको थियो ।
सीमा कार्यदलको बैठक बस्नुअघि संसदीय समितिबाट पाएको निर्देशनलाई नेपाली पक्षले छलफलको एजेन्डामा समावेश गरेको परराष्ट्र स्रोतले बतायो । नदी सिमाना भएका ठाउँमा यसअघिका सहमतिअनुसार सीमा स्तम्भ कायम गर्नेबारे छैटौं बैठकले निर्णय लिनेछ । –कान्तिपुर दैनिकबाट