काठमाडौं, साउन १७ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेलमा रहेका आफ्ना नेताहरूलाई कारवाही गरेको छ । साउन पहिलो साता बसेको पार्टीको स्थायी कमिटी बैठकले हाल नख्खु कारागारमा रहेका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली(सुदर्शन)सहित कारागारमा रहेका केन्द्रीय नेताहरूलाई पार्टीको जिम्मेवारीविहीन बनाएको हो ।
सोही बैठकबाट स्थायी समिति भंग गरी पार्टी हेडक्वार्टर बनाइएको र सो हेडक्वार्टरका सदस्यहरूमा महासचिव नेत्रविक्रम चन्द(विप्लव), खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढामगर र धर्मेन्द बास्तोला रहने निर्णय भएको छ । विप्लव समुहका एक नेताका अनुसार, ‘बैठकले पार्टी हाइकमाण्डमा सदस्य रहेका हेमन्तप्रकाश ओली हाल जेलमा रहेका कारण निजलाई हेडक्वार्टरबाट बाहिर राख्ने र उनी सकुशल फर्किएमा पछि परिस्थिति हेरी जिम्मेवारी दिने निर्णय भएको छ ।’
सोही बैठकले पार्टीमा निस्क्रिय रहेका, पक्राउ परेका, बिरामी र वार्ताको नाममा दोहोरो भूमिका खेलेको आक्षेप लागेका १७ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएको छ । त्यसरी जिम्मेवारीविहीन हुनेमा नख्खु कारागारमा रहेका माइला लामा, विजय श्रेष्ठ, बन्धु चन्द रहेका छन् । पक्राउ परेर रिहा भएका चुडामणि वली र चन्द्रबहादुर खड्कालाई केन्द्रीय कमिटीबाट हटाइएको छ ।
बैठकले जेलमै रहेर पनि सरकारसँग वार्ताको पहल गरिरहेको भनिएका पोलिटब्यूरो सदस्य मोहन कार्की र भरत बमलाई केन्द्रीय सदस्य समेत नरहने गरी हटाएको छ । त्यस्तै, केही केन्द्रीय सदस्यहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै उनीहरूलाई जिम्मेवारीविहीन बनाइएको छ ।
विप्लव नेतृत्वको पार्टीमा अब पोलिटब्यूरो हुने छैन भने केन्द्रीय समिति ३५ सदस्यीय मात्रै हुनेछ । यसअघि सो पार्टीको केन्द्रीय कमिटीमा ५१ जना सदस्य थिए । बैठकले केन्द्रीय कमान्डका इन्चार्जहरूको जिम्मेवारी पनि हेरफेर गरेको छ । पूर्वी कमाण्डमा सन्तोष बुढामगर, मध्य कमाण्डमा खड्कबहादुर विश्वकर्मा, मध्यपश्चिममा चन्द्रबहादुर चन्द र पश्चिम कमाण्डमा धर्मेन्द्र बास्तोलालाई इन्चार्ज तोकेको छ ।
यी चार वटा कमाण्डलाई जनयुद्धकालीन सैन्य संरचनामा लैजाने र जनमुक्ति सेनाको संख्या बढाउने निर्णय पनि उक्त बैठकले गरेको छ । जनमुक्ति सेनालाई चाहिने सामान निर्माण, आयात र भण्डारणको जिम्मेवारी केन्द्रीय सदस्य दीपकबहादुर चलाउनेलाई दिइएको छ । चलाउने तत्कालीन माओवादी द्वन्द्वका क्रममा जनमुक्ति सेनाका कमाण्डर थिए । १२ वटा ब्यूरो बनाएर इन्चार्जको पनि जिम्मेवारी हेरफेर गरिएको सो पार्टीले जनाएको छ । साथै, बैठकले तात्कालिक परिस्थितिमा सरकारसँग वार्ताको कुनै सम्भावना नभएको प्रष्ट्याएको छ ।