काठमाडौं । २४ घण्टाभित्रै स्मार्ट ड्राइभिङ लाइसेन्स दिने घोषणा गरेको यातायात व्यवस्था विभागले ६ महिनासम्म पनि दिन सकेको छैन । लाइसेन्स परीक्षा उत्तीर्ण भएका ६ लाख जनाले अहिलेसम्म स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । उनीहरू महिनादिनदेखि ८ महिनासम्म कुर्नेपनि रहेको छन् ।
विभागले सुरुमा २४ घण्टाभित्रै लाइसेन्स दिने व्यवस्था भएको भन्दै प्रचार पनि गर्यो । तर, अहिले लाइसेन्स परीक्षा पास गरेपछि स्मार्ट लाइसेन्स लिन कम्तीमा पनि तीन चार महिना कुर्नुपर्ने समस्या रहेको सेवाग्राही बताउछन् । लाइसेन्स आएको छ कि छैन भनेर यतिबेला विभागमा दैनिक जसो धाउनेको सख्या पनि उत्तिकै रहेको छ । कतिपयको त एक वर्ष बितिसक्दा पनि आएको छैन । आए पनि विभिन्न त्रुटीहरू हुने गरेको गुनासो छ । अहिले दैनिक ६ हजार कार्डको माग भएपनि विभागले दैनिक ३ हजार कार्ड मात्र छाप्न सकिरहेको छ । जसले गर्दा पाइपलाइनमा थुप्रै सेवाग्राही बस्नु परेको हो ।
अहिलेको स्टक पनि गरेर अझै करिब ६ लाख जति कार्ड छाप्न बाँकी भएको विभागका प्रवक्ता तिर्थराज खनालले जानकारी दिए । ‘हामीसँग अझै कार्ड छपाइको चुनौती रहेको छ, दैनिक ६ हजारको माग भइरहँदा हामीले तीन हजार मात्र छाप्न सकिरहेका छौँ’, उनले भने । स्मार्ट कार्ड छपाइको लागि भारतीय कम्पनी ‘मद्रास सेक्युरिटी कम्पनी’सँग थप १० लाख कार्ड मगाउने विभागको तयारी छ । तर विभागले पहिलेको रकम भुक्तानी गर्न नसकेकाले मद्रास कम्पनीले कार्ड छाप्न मानिरहेको छैन ।
विभागले मद्रास कम्पनीसँग पटक पटक गरेर ९ वटा मेसिन र १२ लाख थान स्मार्ट लाइसेन्स खरिद गरेको थियो । जुन लाइसेन्समा निक्कै समस्या आएको सेवाग्राहीको गुनासो गरिरहेका छन् । विभागले सो कम्पनीलाई २१ करोड दिनुपर्नेमा अझै १४ करोड बक्यौता तिर्न बाँकी रहेको छ । जसका कारण तत्काल लाइसेन्सको समस्या समधान हुने नदेखिएको विभागकै कर्मचारीहरू बताउँछन् ।
१४ करोड रकम भुक्तानी नगरेसम्म कार्ड नछाप्ने अडानमा मद्रास कम्पनी रहेको छ भने बिग्रेका स्मार्ट कार्ड र दुईओटा मेसिन कम्पनी आफैले मर्मत नगरेसम्म भुक्तानी नगर्ने अडानमा विभाग रहेको छ । ‘दश वर्षसम्म मर्मतको जिम्मेवारी लगेको कम्पनीले बिग्रेको मेसिन बनाउनुपर्ने हुन्छ । यति मात्र होइन कम्पनीले उपलब्ध गराएकामध्ये १८ हजार कार्डहरू पनि बिग्रेका छन’, विभागका प्रवक्ताका खनालले भने, ‘कम्पनीले बिग्रेका मेसिन मर्मत नगर्न सम्म हामीले कुनै पनि हालतमा भुक्तानी गर्ने छैनौँ ।’
दुई पक्ष विवादमा मुछिएपछि सेवाग्राहीहरू पिल्सिएका छन् । लाइसेन्स परीक्षा उतीर्ण गरेको चार महिना बितिसक्दा पनि हातमा कागजको टुक्रा बोकेरै काम चलाइरहेका छन् । अहिले विभागसँग स्टकमा एक लाख जति कार्डहरू मात्र रहेको छ । अहिले लाइसेन्स परीक्षामा पास भएका सबैको हातमा लाइसेन्स आउन दैनिक ८ हजार कार्ड छपाउनुपर्ने हुन्छ । तर, यातायात विभागसँग भएका सातवटा मेसिनहरूले अहिले दैनिक ३ हजार मात्र कार्डहरू छापीरहेको छ ।
विभागको तथ्यांक अनुसार देशभरी ८ लाख स्मार्ट कार्ड वितरण भइसक्दा पनि नेपाल ट्राफिक प्रहरीसँग जम्मा दुईवटा मात्र लाइसेन्स रिडर मेसिन छन् । मेसिनको अभावका कारण बजारमा नक्कली स्मार्ट कार्डहरू चल्न थालेको स्वयम प्रहरीले बताउदै आएको छ । अब चाँडै १० ओटा मेसिन आइसक्ने महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ ।