नयाँ दिल्ली, २५ साउन – भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
अत्यधिक बर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
मृत्यु भएकाहरु इडुक्की, मालापुराम, कोझीकोडे वायानाडा र इर्नाकुलाम जिल्लामा रहेका समाचारमा जनाइएको छ ।
केरला राज्यका मुख्य मन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि २६ बर्षमा पहिलो पटक इदुकी जलाशयको चेरुथोनी बाँधका गेटहरू खोलिएको बताउनुभयो । बाढीले बढी क्षति पुर्याएकोले बाँधका गेटहरू खोल्नुपरेको उहाँले बताउनुभएको छ ।
पछिल्लो विवरण अनुसार इर्नाकुलाम जिल्लामा थप दुई जनाको मृत्यु भइ कुल मृत्यु हुनेहरुको संख्या २२ पुगेको हो । त्यस अगाडी इडुक्कीमा ११ जनाको, मालापुराममा छ जनाको, कोझीकोडेमा दुई जनाको र वायानाडमा एक जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीले जानकारी दिएका छन् ।
“तल्लो भूभागमा रहेको अधिकांश ठाउँहरूमा बाढी पसेको छ, पालाक्काड, वायालाड र कोझीकोडे जिल्लामा केही बेपत्ता भएका छन्,” ती अधिकारीले भने ।
“अवरुद्ध भएका हवाइ सेवाहरू पुनः सुरु गर्न लागिएको छ भने मौसमी अवस्थामा सुधार भइरहेको छ,” विमानस्थलका एक अधिकारीले भने ।
विद्यालय र कलेजहरू बन्द गरिएको स्थानीय टेलिभिजनहरुले बताएका छन् ।
केरला राज्यका मुख्य मन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि बाँध खोलिएकाले बाढीले बढी क्षती पुर्याएको बताउनु भएको छ ।