काठमाडौं, भाद्र १५ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना पुष्टि भएका मुखर्जीको उपचारका क्रममा आज निधन भएको हो ।
उनका छोरा अभिजित मुखर्जीले ट्वीटमार्फत बुवाको मृत्यु भएको जानकारी दिएका हुन् । बीबीसीले पनि मुखर्जीको निधन भएको पुष्टि गरेको छ । पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड–१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका थिए । पूर्वराष्ट्रपति मुखर्जीले आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड–१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए ।
पूर्वराष्ट्रपति मुखर्जीको ‘ब्लड क्लट’ का कारण दिमागको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि मुखर्जी कोमामा गएका थिए । अस्पतालले आज बिहान विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनयता मुखर्जीको स्वास्थ्यमा गिरावट देखिएको र फोक्सोमा देखिएको इन्फेक्सनका कारण ‘सेप्टिक शक’ भएको जानकारी गराएको थियो ।
झन्डै ५ दशक भारतीय कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका मुखर्जी सात पटक सांसदमा निर्वाचित भएका थिए । राजनीतिमा आउनुअघि उनले शिक्षण र पत्रकारिता पेसा अँगालेका थिए । उनी सन् १९६९ मा राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि लगातार उनी चारपटक राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००४ मा भने पश्चिम बंगालको जांगीपुर क्षेत्रबाट उनी लोकसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००९ मा त्यसै क्षेत्रबाट उनी पुनः निर्वाचित भएका थिए । उनी सन् १९७२ मा इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । उनले अर्थ, वाणिज्य, विदेश तथा रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।
राष्ट्रपति भण्डारीद्वारा सम्वेदना
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनबाट आफू मर्माहत भएको भन्दै आज साँझ ट्विटमार्फत नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले ‘भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दुःखद् निधनबाट मर्माहत भएको छु । नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ’, ट्विटमा उल्लेख गरेकी छन् ।