काठमाडौं । नेपाल एड्भेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा चाँगुनारायण राष्ट्रिय ट्रेल रन यही वैशाख १९ गते हुने भएको छ । आयोजकले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त ट्रेल रनबारे जानकारी गराएको हो ।
एडभेन्चर रनिङ्ग सम्बन्धी सहासिक तथा पर्यटकीय खेलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद जगतमा लोकप्रिय बनाँदै यस खेलको विकास र प्रतिभावान खेलाडीहरु उत्पादन गर्ने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको नेपाल एडभेन्चर रनिङ महासंघले जनाएको छ ।
महासंघको बार्षिक कार्यक्रम अनुसार यो चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना गर्न लागेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए । चाँगुनारायण राष्ट्रिय ट्रेल रन खुल्ला ३६ किमी र यू२० जुनियरको लागि ७ किमी विधा समावेश गरिएको छ ।
खुल्लातर्फ महिला र पुरुषमा ३६ कि.मि. र २० वर्ष भन्दा मुनिका युवा महिला र पुरुष तर्फ ७ कि.मि.दौडमा प्रतिष्पर्धा हुनेछ उपाध्यक्ष खत्रीले जानकारी दिए । सुरुमा ३८ किमी दूरी तय भएपनि पछि परिमार्जन भएर ३६ किमी दूरी कायम भएको उनले जानकारी दिए । प्राविधिक टिमले निरिक्षण गरेर रुट तयार पारेको खत्रीले बताए ।
कच्ची, पक्की, उकालो, ओरालो बाटो, वनजंगल भित्रको हाईकिङ ट्रयाक रुटलाई समेटेर यस ट्रेल रनको रुट तयार गरिएको आयोजकले जनाएको छ ।
चाँगुनारायण राष्ट्रिय ट्रेल रन चाँगुनारायण मन्दिरबाट सुरु त्रिशुल डाँडा, तेलकोट, श्री पन्च महालक्ष्मी मन्दिर, कार्तिके भ्यु प्वाइन्ट, नगरकोट भ्यु टावर, मुहान पोखरी, पानी मुहान, पाइपलाइन रोड हुँदै चाँगुनारायण नगरपालिकामा आएर दौड सकिनेछ । यस्तै ७ किमी दौड भने चाँगुनारायण मन्दिरबाट सुरु भइ त्रिशुल डाँडा हुँदै चाँगुनारायण नगरपालिका पुगेर सकिनेछ ।
महासंघका उपाध्यक्ष खत्रीका अनुसार यस प्रतियोगितामा २५० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउनेछन् । खुल्ला ३६ कि.मि. महिला तथा पुरुष दौड तर्फ पहिलो हुनेले १ लाख पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यसैगरी चौथोले २५ हजार, पाँचौले १० हजार र छैठौ देखि दशौ स्थानमा दौड सकाउनेल जनही ३ हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
२० वर्ष भन्दा मुनिको ७ कि.मि.युवा महिला तथा पुरुष दौड तर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार प्राप्त गर्नेछन् । यसैगरी चौथोले ५ हजार, पाँचौले ३ हजार तथा छैठौँ देखि दशौ स्थानसम्म रहनेलाई जनही १ हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कार रकममा नेपाल सरकारको आर्थिक नियमानुसार १५ प्रतिशत कर कट्टी गरेर खेलाडीलाई प्रदान गरिने महासंघ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।
चाँगुनारायण राष्ट्रिय ट्रेल रन प्रतियोगितालाई पर्यटन तथा संस्कृती मन्त्रालय बागमती प्रदेश, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद बिकास परिषद्, बागमती प्रदेश, चाँगुनारायण नगरपालिका, भक्तपुर जिल्ला खेलकुद विकास समिति, टोयोटा कम्पनी, १४ पिक्स आउटडोर लगायतले सहयोग गरेको खत्रीले बताए । प्रतियोगिताको अनुमानित बजेट २८ लाख ११ हजार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको संयोजकमा महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्री छन् । महासंघका उपाध्यक्ष राजन खत्रीले ट्रेल रनको नेपालमा धेरै सम्भावना रहेको सरकारले पनि प्राथमिकता दिएकोले निश्चित योजना बनाएर यो खेललाई अघि बढाउने खत्रीले बताए ।
यस्तै महासंघले अबदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना समेत बनाएको खत्रीले जानकारी दिए । ‘अब हामी एउटा अन्तर्राष्ट्रिय अल्ट्रा रेस हरेक वर्ष गर्ने हाम्रो योजना छ । अर्को तर्फ नेपालमा बर्सेनि हुने २५–३० वटा रेसहरु छन् । त्यसमा केही रेसले हामीसँग सहकार्य गरेको छ । नेपाल पर्यटन बोर्डले पनि तीन रेस आयोजकसँग गोष्ठी गरेर छलफल गर्ने र कसरी अघि बढ्ने भनेर योजना भईरहेको छ ।’