काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लबले लगातार नवौँ जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले प्लेबक्स एरेनालाई पराजित गरेको हो ।
टाईम्सले पहिलो क्वाटर २०–१८ र दोस्रो क्वाटर २०–१० ले आफ्नो पक्षमा पार्दै हाफ टाईमसम्म ४०–२८ को अग्रता बनाएको थियो । तेस्रो क्वाटर टईम्सले २०–१३ ले आफ्नो पक्षमा बनाउँदा चौथो क्वाटरमा १६–१३ को अग्रता बनाएको थियो । टाईम्सका मनीष केसी म्यान अफ दि म्याच घोषित भए ।
टाईम्सले लगातार नवौँ जितपछि १० खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । नवौँ हारपछि प्लेबक्सको १० खेलबाट ११ अंक भएको छ ।
यस्तै शुक्रबार राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्लेबक्स एरेनालाई १०३–७४ ले पराजित गरेको थियो । आर्मीका लागि सिमोन गुरुङले सर्वाधिक ३५ अंक स्को, गरे । ९ खेलमा आठौँ जित हात पारेको आर्मि १७ अंकसहित दोस्रोमा छ । गुरुङ म्यान अफ दि म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।