काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल र काष्ठमण्डप विद्यालयका समान ३–३ टोली १२ औं एक्सेल्सियर कपमा बिहीबार फाइनलमा प्रवेश गरेको छन् । ब्वाइज फुटसलको यु–९ र यु–१३ तथा बास्केटबलको सिनियर गर्ल्समा एक्सेल्सियर फाइनलमा पुग्यो । काष्ठमण्डपको यु–९, यु–११ र यु–१३ उमेरसमूहको ब्वाइज फुटसल टोलीले फाइनलमा स्थान पक्का गर्यो ।
यु–९ मा काष्ठमण्डपले कोहिनुरलाई ५–० गोलले सहजै पराजित गर्यो । विजेताका अनय रेग्मीले ह्याट्रिक पूरा गरे भने सूर्यान्श सुवेदी र स्लोक रिमालले समान १–१ गोल थपे । फाइनलमा काष्ठमण्डपको भेट आयोजक एक्सेल्सियर (रातो) संग हुनेछ । एक्सेल्सियर (रातो) ले आफ्नै नीलो टोलीलाई १–० गोलले हराएको थियो ।
यु–११ मा काष्ठमण्डपले राई स्कुललाई २–१ गोलले पाखा लगाउदै जोन डेवीसंग उपाधि भिडन्त पक्का गर्यो । काष्ठमण्डपका अधिराज श्रेष्ठ र शिभांकराज भट्टराईले गोल गरे । अर्को सेमिफाइनलमा जोन डेवीले संस्कृति इन्टरनेसनल स्कुललाई टाइ ब्रेकरमा ४–३ गोलले पन्छाएको थियो । यु–१३ मा काष्ठमण्डपले रिब्सलाई टाइ ब्रेकरमा २–१ गोलले निराश पार्यो ।
उपाधिका लागि काष्ठमण्डपले एक्सेल्सियरसंग खेल्ने छ । एक्सेल्सियरले एलआरआईमाथि ३–१ को जित दर्ता गर्यो । एक्सेल्सियरका लागि तीनै गोल लियोन गुरुङबाट सम्भव भयो । एलआरआईका सयेश क्षेत्रीले १ गोल फर्काए । यु–१६ मा रिब्स र न्यु एरा एकेडेमी उपाधिका लागि भिड्ने भएका छन् ।
रिब्सले बोधीसत्वलाई ३–१ गोलले हरायो । रिब्सका ब्लेस गुरुङले २ तथा आयुश केसीले १ गोल गरे । बोधीसत्वका योगराज खड्काले सान्त्वना गोल गरे । न्यु एराले एक्सेल्सियरको चुनौती ३–० ले समाप्त पार्यो । न्यु एराका पेम्बा तामाङ र आयुश बरामले गोल गरे । एक गोल आत्माघाती थियो ।
बास्केटबल :
.jpg)
एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्समा रिब्स र आयोजक एक्सेल्सियर बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
रिब्सले ल्यान्डर्माक एकेडेमीलाई २१–९ ले पराजित गर्यो ।
रिब्सको जितमा निमिशा धामीले ८ अंक योगदान गरिन् । अकिना घिमिरेको ७ अंक सहयोगमा एक्सेल्सियरले रेडियन्ट पब्लिकलाई १९–१५ ले हरायो ।
सिनियर ब्वाइजमा रेडियन्ट पब्लिकले संस्कृतिलाई ५५–३५ तथा राराहिलले पुष्पसदनलाई ५०–३५ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे । रेडियन्टका सुशनराज न्यौपानेले १८ तथा राराहिलका कृष्णले २० स्कोर गरे ।
एक्सेल्सियर कपमा पहिलोपटक समावेश गरिएको विधा गल्र्स यु–१२ मा स्वर्णिमले राई स्कुललाई १०–५ तथा चाँदबागले एक्सेल्सियरलाई ९–२ ले पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे । स्वर्णिमकी पलिस्था हाडाले ३ तथा चाँदबागकी अग्रबिया महर्जनले ५ अंक जोडे ।