काठमाडौं । डिफेन्डिङ च्याम्पियन आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल ‘ए’ र एन्जल्स हार्ट सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन् । फेरिल्यान्ड जुनियर गर्ल्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।
बूढानीलकण्ठ नगरपालिका, १० को बालुवाखानीस्थित घरेलु कोर्टमा फेरिल्यान्ड ‘ए’ ले भ्याली पब्लिकलाई ३०–२५ ले पराजित गर्दै उपाधि रक्षा गर्यो । फेरिल्यान्ड ‘ए’ को जितमा सन्दिपा राईले १० अंक योगदान गरिन् । फेरिल्यान्ड ‘बी’ तेश्रो भयो ।
जुनियर ब्वाइजको उपाधि भिडन्तमा सौरव श्रेष्ठको ८ सहयोगमा एन्जल्स हार्टले जेबी स्कुललाई २०–१६ ले हरायो । फेरिल्यान्ड तेश्रो स्थानमा रह्यो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सौरव र सन्दिपा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा फेरिल्यान्डका मिङमार तामाङ तथा जुनियर गर्ल्समा भ्याली पब्लिककी सोनीमाया तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।
जुनियर ब्वाइजमा जेबी स्कुलका हरि मगर तथा जुनियर गर्ल्समा फेरिल्यान्डकी करुणा बोगटी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

जुनियर ब्वाइजमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) तथा जुनियर गर्ल्समा हिमशिलाले अनुशासित टिमको ट्रफी हात पारे । जुनियर ब्वाइजमा ज्ञानभूमि र जुनियर गर्ल्समा न्युटन ‘इमर्जिङ टिम’ चुनिए ।
विजेतालाई बूढानीलकण्ठ नगरपालिका प्रवक्ता समेत रहेका वडा १० का अध्यक्ष नवराज भट्टराई, फेरिल्यान्डका निर्देशकद्वय विनोद अधिकारी र राजेन्द्र देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ ११ गतेदेखि सुरु भएको प्रतियोगिताको जुनियर ब्वाइज–गर्ल्समा समान १२–१२ टिम सहभागी थिए ।