काठमाडौं । ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेर सुपर सिक्समा पुगेको हो ।
जापानले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । कुशल भुर्तेल २१ रन, कप्तान रोहित पौडेल १८ रन, सन्दीप जोरा ५ रन र कुशल मल्ल ४ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरी १४ रन र गुल्सन झा २८ रनमा अविजित रहेका थिए ।
जापानका लागि सोमा सेल्टरले सर्वाधिक २ विकेट लिए । रियो साकुरानो थोमस, सबारिस रविचन्द्रन र डेक्लान सुजुकीले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी-फ्लेमिङ ४६ बलमा सर्वाधिक ६० रन बनाएका थिए ।
उनले दोस्रो विकेटका लागि इसम रहमानसंग ८६ रनको साझेदारी गरेका थिए । रहमानले २५ बलमा ३१ रनको योगदान दिए । जापानका अन्य ब्याटर भने चल्न सकेनन् । नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २/२ विकेट तथा सोमपाल कामी र गुल्सन झाले समान १/१ विकेट लिएका थिए ।

नेपालले यसअघि पहिलो खेलमा कुवेतविरुद्ध ५८ रनको जित निकालेको थियो । योसँगै नेपालले समूह चरणमा ४ अंक जोडेको छ । सुपर सिक्समा नेपालको २ अंक रहनेछ । हारका बाबजुद जापान पनि समूह उपविजेताको रुपमा सुपर सिक्समा प्रवेश गरेको छ ।
विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता छ । जसबाट तीन टिमले मात्र आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् ।
समूह चरणमा नौ टिमलाई प्रत्येक समूहमा ३ टिम रहने गरी तीन समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट हुनेछन् । सुपर–६ को शीर्ष ३ मा रहने टिमले विश्वकपमा स्थान बनाउने छन् ।