काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई हराएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।
ओमान क्रिकेट एकेडेमी-१ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर एक बलमा ८३ रनमा अलआउट भयो ।
कुवेतका क्लिन्टो एन्टोले २६ र यासिन इशाक पटेलले १९ रन बनाए । नेपालका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान २/२ विकेट तथा सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि ब्याटिङ गरेको नेपालले सात विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । नेपालका कुशल भुर्तेलले ६६ तथा दीपेन्द्रसिंह ऐरी र गुल्शन झाले समान २०/२० रन बनाएका थिए ।

कुवेतका नवीनराज राजेन्द्रन र अनुदीप चेन्थमाराले समान २/२ विकेट तथा मोहम्मद अकिफ फारुक र मोहम्मद असलमले समान १/१ विकेट लिएका थिए ।
यो जीतसँगै समूह ‘बी’मा रहेको नेपालले महत्त्वपूर्ण दुई अङ्क जोडेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल भोलि जापानसँग खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ ।
सुपर–सिक्समा छ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपको १०औं संस्करणमा खेल्न पाउनेछन् ।
कुशल भुर्तेल बने प्लेयर अफ द म्याच

नेपाल र कुवेतबिचको खेलमा कुशल भुर्तेल प्लेयर अफ द म्याछ बनेका छन् । नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका कुशल प्लेयर अफ द म्याछ बनेका हुन् । नेपाललाई ५८ रनले जित निकाल्न उनले बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा महत्त्वपूर्ण योगदान दिएका थिए ।
ब्याटिङमा ५६ बलमा ६६ रन बनाएका उनले बलिङमा एक विकेट लिएका थिए । १ ओभर एक बल बलिङ गरेका कुशलले १ विकेट लिन सफल भए । फिल्डिङमा उनले कुवेतका कप्तानको क्याच लिएका थिए ।