एजेन्सी, २७ साउन – २ वर्ष अघिको विजेता चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार जितसहित प्रिमियर लिगको सुखद शुरुवात गरेको छ । इटालियन प्रशिक्षक माउरिज्यो सारीको नेतृत्वमा पहिलो लिगको खेल खेलेको चेल्सीले हडर्शफिल्डविरुद्ध ३ – ० गोल अन्तरको नतिजा निकालेको हो ।
खेलको ३४ अाैं मिनेटमा फ्रान्सेली विश्वकप विजेता एङ्गोलो कान्टेको गोलबाट अग्रता लिएको चेल्सीकालागि पहिलो हाफ सकिन १ मिनेट अघि पाएको पेनाल्टिको सदुपयोग गर्दै प्रिमियर लिगमा डेब्यु गरेका जर्जिन्होले टिमको अग्रता दोब्बर पारेका थिए।
पहिलो हाफको खेल २–० गोलको नतिजामा टुंगिएको खेलको दोश्रो हाफमा अझ अाक्रामक शैलीमा मैदानमा उत्रिएको चेल्सीका लागि अन्तिम गोल ८०अाैं मिनेटमा स्पेनिस इन्टरनेसनल पेड्रो रोड्रिग्वेजले गरेका हुन् ।
डिफेण्डर मार्कोस अलन्सोलाई डि–बक्समा लडाएपछि चेल्सीले पेनाल्टीको मौका पाएको थियो । जसको सदुपयोग गर्दै जर्जिन्होले पहिलो प्रिमियर लिगको खेलमै गोल गर्ने माैका पाएका थिए ।
शनिबार नै सम्पन्न पहिलो खेलमा टोटनह्यामले न्युक्यासलविरुद्ध २–१ को कठिन जीत निकालेको थियो । त्यस्तै, हिजो नै सम्पन्न अन्य खेलहरुमा कार्डिफविरुद्ध वर्नमाउथ २–० गोलको जित निकाल्दा क्रिस्टल प्यालेसले पनि यसै सिजन दोश्रो डिभिजनबाट बढुवा भएको फुल्हामविरुद्ध २–० को जित दर्ता गर्यो । सोही समयमा भएको अर्को खेलमा वाटफोर्डले व्राइटनलार्इ २–० ले निराश पारेको छ ।
राति सवा १० बजे सुरु भएको शनिबारको अन्तिम खेलमा एभर्टन र वुभोल्सले २–२ गोलको बराबरी खेलेका छन् । अत्यन्तै प्रतिस्पर्धात्म सावित भएको खेलमा
एभर्टनका लागि दुबै गोल ४० मिलियन पाउण्डमा यसै सिजन वाटफोर्डबाट भित्रिएका रिचार्लिसनले गरेका हुन् । खेलको ४० अाैं मिनेटमा एभर्टनका कप्तान फिल जेगिअल्काले रातो कार्ड पाएपछि पाहुना टोली १० जनामा समेटिएको थियो । वुभोल्सकालागि १ गोल रुवेन नेभेसले शानदार फ्रि–किक मार्फत गरेभने दोश्रो खेल मेक्सिकन इन्टरनेशनल राउल गिमिनेजले हेडरमार्फत गरेका हुन् ।
वाटफोर्डबाट यसै सिजन मर्सेसाइड पुगेर एभर्टन सम्हालेका प्रशिक्षक मार्को सिल्भा रिचार्लिसनका लागि ठूलो रकम खर्च गर्दा अालोचित समेत बनेका थिए ।