काठमाडौं । जावलाखेल, ललितपुरस्थित डिएभी सुसिल केडिया विश्व भारती स्कुलद्वारा आयोजित पहिलो संस्करणको “लेट सुसिल केडिया मेमोरियल स्पोटर्स गाला २०२५” सम्पन्न भएको छ । स्पोटर्स गालामा कुल ९१ विद्यालयको सहभागिता रहेको थियो जसले बिभिन्न ६ वटा खेलका टिम र व्यक्तिगत विधामा प्रतिस्पर्धा गरेका थिए ।
साउन २४ गतेदेखि सुरु भई भदौ ११ गतेसम्म गरी २० दिन संचालन भएको स्पोटर्स गाला डीएभी स्कुलले आयोजना गरेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो । प्रतियोगिताको अन्तिम दिन सम्पन्न क्रिकेटतर्फको फाइनलमा नेपाल पुलिस स्कुलले एलआरआई स्कुललाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो । जितको लागि ७२ रनको लक्ष्य पाएको एलआरआईले कमजोर ब्याटिंग गर्दै ४.३ ओभरमा २३ रनमै सबै विकेट गुमायो । नेपाल पुलिस स्कुलका आर्यन शाहले ४ विकेट लिंदै जितमा अहम योगदान दिए । यस अघि ब्याटिंगमा समेत आर्यनले ३१ रन बनाएका थिए ।
क्रिकेट प्रतियोगितातर्फ एलआरआई स्कुलका अभि थपलिया प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भए । यस्तै उत्कृस्ट ब्याटर डीएभी स्कुलका आरुष झा, उत्कृस्ट बलर विजेता पुलिस स्कुलका आर्यन शाह, उत्कृस्ट विकेकिपर जेम्स स्कुलका दिक्षान्त मिश्रा तथा उदयमान खेलाडी रेडीयन्ट रिडर्स स्कुलका सनातन नेपाल घोषित भए ।
प्रतियोगिताको गत साता सम्पन्न भएको फुटबलतर्फ १८ टोली सहभागी हुँदा कान्जिरोवा माध्यमिक विद्यालयले उपाधि जित्यो । दोस्रो स्थानमा मोर्डन इन्डियन स्कूल रह्यो भने डिएभी तेस्रो स्थानमा रह्यो । व्यक्तिगत पुरस्कारमा डिएभीका आर्यन झा उत्कृष्ट गोलकिपर, मोर्डन इन्डियन स्कुलका दिपाङ्कर भुषाल सर्वाधिक गोलकर्ता, कान्जिरोवाका तुषार गिरी उदाउँदो खेलाडी र म्यान अफ द फाइनल तथा एनके मेमोरियल इङ्गलिस प्रिपरेटरी स्कूलले फेयर प्ले टिम पुरस्कार जिते । फुटबलको पुरस्कार वितरण कार्यक्रम अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले गरेका थिए । सो क्रममा थापाले वृहत आयोजनाको प्रशंसा गरेका थिए ।
अन्य खेलतर्फ तेक्वान्दोमा ९ विद्यालयबीच प्रतिस्पर्धा हुँदा श्री विष्णुदेवी माध्यमिक विद्यालय प्रथम, डिएभी दोस्रो र जेम्स तथा जुगल नव गुरुकुल विद्यालय तेस्रो भए । महिला उत्कृष्ट पूम्से खेलाडीमा विष्णुदेवीकी बर्षिका महरा, पुरुष उत्कृष्ट पूम्से खेलाडीमा बोधि वृक्षका नभ्यम लामा, महिला उत्कृष्ट फाइटरमा डिएभीकी गरिमा पुन र उदाउँदो खेलाडीमा डिएभीकै अक्षुन्ना राई घोषित भए ।
पुरुष बास्केटबलमा १० विद्यालय सहभागी हुँदा एलआरआई विद्यालय प्रथम र ज्ञानोदय विद्यालय दोस्रो बने । एलआरआईकै रियुचि श्रेष्ठ शीर्ष स्कोरर तथा राकेश भुजेल एमभीपी घोषित भए। महिला बास्केटबलमा १० विद्यालय सहभागी हुँदा जेम्स स्कूल प्रथम र ज्ञानोदय दोस्रो बने । जेम्सकै कृशा ढकाल शीर्ष स्कोरर र दिव्यंसा कार्की एमभीपी बने ।
यस्तै, टेबल टेनिसतर्फ १५ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । पुरुष टिम इभेन्टमा युनाइटेड स्कूल प्रथम, श्रीष्टी एकेडेमी दोस्रो र एभीएम तथा डिएभी तेस्रो भए । महिला टिम इभेन्टमा एभीएम प्रथम, युनाइटेड दोस्रो र पुष्पसदन तथा मोर्डन इन्डियन स्कुल तेस्रो भए। विभिन्न उमेर समूहको विधाहरुमा डिलाइट किन्डरगार्डेन हाई स्कूलका निर्भिक शाक्य, श्रीष्टी एकेडेमीकी अनुस्का शाह, काव्या स्कूलका तृजल चौधरी र तोरण नवजीवन स्कुलकी प्रमिशा पुन उत्कृष्ट खेलाडी बने । युनाइटेड युनिभर्सलका सरुरत गौतम, डिएभीकी रुमानी पाठक, पुष्पसदनका एरोन महर्जन र डिएभीकी स्नेहा कुमारी महतोलाई रायजिङ प्लेयर अवार्ड दिइयो । एभीएमका काव्या शाक्य र शिरीषराज शाक्य उदयमान खेलाडी बने ।
ब्याडमिन्टनमा १३ विद्यालय सहभागी हुँदा नेपाल पुलिस स्कूल प्रथम, सेन्ट मेरीज दोस्रो र केन्द्रीय विद्यालय तेस्रो भए । व्यक्तिगततर्फ डिएभीका सुमिर ढकाल उत्कृष्ट पुरुष खेलाडी, सेन्ट जेभियरकी निकिता यादव उत्कृष्ट महिला खेलाडी बने । डिएभीका आयुष पौडेल र सेन्ट मेरीजकी बिजल खत्री उदायमान प्लेयर बने ।