काठमाडौं । भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधवार सुरु भयो । अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा जारी दुई दिने प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले माओवादी युद्धमा रानाको भूमिका महत्त्वपूर्ण रहेको बताए । सो अवसरमा उनले नेपाली चेसको विकासमा अखिल नेपाल बुद्धिचाल सङ्घको भूमिकाको प्रशंसा गरे । अखिल नेपाल बुद्धिचाल सङ्घको स्थापनामा रहेको भूमिका तथा नेपाली बुद्धिचालमा सक्रिय नेपाल बुद्धिचाल सङ्घका पूर्व उपाध्यक्ष सुबोध राज सेर्पालीको समेत उल्लेख्य भूमिका थियो ।
उद्घाटन कार्यक्रममा पूर्व गृहमन्त्री शक्ति बस्नेत, नेपाल उसु सङ्घका महासचिव तथा अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष नवराज ढुङ्गाना विश्वास र दिवंगत भक्त रानाको धर्मपत्नी वर्षा राना मगरले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सूर्य लाल डोङ, प्रदेश सभा सदस्य युवराज चौलागाई र राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नेपाल कुस्ती सङ्घका अध्यक्ष प्रकाश कुसारीको उपस्थिति थियो । कार्यक्रम अखिल नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष तथा नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष दिपेन राईको अध्यक्षतामा भएको थियो ।
दुई दिने प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता छ । प्रतियोगिताको मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु छन् । प्रतियोगितामा खुलाका साथै महिला, भेट्रान, अनरेटेड तथा उमेर समूहको समेत गरी २ लाख भन्दा बढी पुरस्कार राशिको व्यवस्था गरिएको छ । बिहीबार सकिने प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन हुने छ ।
रोयल एयरपोर्ट होटेल, काठमाडौँमा जारी प्रतियोगिताको ३ चरणको समाप्तिमा शीर्ष वरियताका खेलाडी सुमन लामा, नबिन तण्डुकार, उमेश राई र दीपक महर्जन लगायतले ३ अङ्क जोड्दै अग्रता कायम गरेका छन् ।