काठमाडौं । एन्जल्स हार्ट कलेजको आधिकारिक ब्रान्ड एम्बासेडरको रूपमा युवा क्रिकेट प्रतिभा युवराज खत्री र जोय थापालाई नियुक्त गरिएको छ । युवराज खत्रीले हालसालै नेपाल यु–१९ टिममा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमताको प्रमाणित गरेका छन् र प्रतिष्ठित नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स फ्रेन्चाइजद्वारा चयन भएका छन् ।
त्यस्तै, जोय थापाले एसीसी इस्ट जोन कप यु–१६ मा दुई अर्धशतक प्रहार गर्दै तथा सिंगापुरविरुद्धको फाइनलमा निर्णायक भूमिका खेल्दै नेपाललाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए ।
औपचारिक एमओयु हस्ताक्षर कार्यक्रम कलेजका संस्थापक अध्यक्ष लिलबहादुर पुन, प्रधानाचार्य धनबहादुर पुनका साथै दुवै खेलाडीका अभिभावक लोकेन्द्र खत्री (युवराज खत्रीका पिता) र खिमबहादुर थापा (जोय थापाका पिता) को उपस्थितिमा सम्पन्न भएको थियो ।
सम्झौता अनुसार कलेजले दुवै खेलाडीलाई अनुबन्ध रकम प्रदान गर्ने र साथै प्लस टुसम्मको पूर्ण छात्रवृत्ति प्रदान गर्नुका साथै उनीहरूको भविष्य विकास, उच्चस्तरीय प्रशिक्षण र व्यावसायिक यात्रामा निरन्तर साथ दिने वाचा गरेको छ । कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष लिलबहादुर पुनले भने, ‘एन्जल्स हार्ट कलेजमा हामीले शिक्षा र खेलकुदलाई बराबरी महत्व दिएका छौं । युवराज र जोय हाम्रो भविष्यमा लगानी दृष्टिकोणको प्रतिविम्ब हुन्-अनुशासन, मेहनत र सफलताको ।’
त्यस्तै, प्रधानाचार्य धनबहादुर पुनले भने, ‘यो कदम कलेजको लागि एउटा ऐतिहासिक पहल हो । यसले विद्यार्थीलाई शिक्षा र खेल एकसाथ अघि बढाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दछ । हामीलाई युवराज र जोयमाथि गर्व छ र भविष्यमा अझ चम्किलो उपलब्धि हासिल गर्ने आशा छ ।’
दुवै खेलाडीले कलेज र परिवारप्रति आभार व्यक्त गर्दै एन्जल्स हार्ट कलेजको भावना र मूल्यलाई मैदानभित्र र बाहिर दुवै स्थानमा उचाल्ने प्रतिज्ञा गरे । यस कदमले एन्जल्स हार्ट कलेजले आफ्नो ध्येय- समग्र शिक्षा, युवा नेतृत्व र खेलकुदमा उत्कृष्टतालाई अझ सशक्त बनाउने जनाएको छ ।