काठमाडौं । कृषि, जडिबुटी तथा वन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यमको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा कृषि, जडिबुटी तथा वन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत जीनसोल वाङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा दुबै पक्षले कृषि तथा उद्यमशीलतासम्बन्धी जानकारी आदानप्रदान गर्ने, नेपालको बजार अवस्था र व्यवसायिक सम्भावनाबारे संयुक्त अध्ययन गर्ने विषयहरू समावेश गरेका छन् । ब्रिज इन्टरनेशनलले नेपालको नवप्रर्वद्धन व्यवसायलाई केन्द्रदेखि स्थानीय तहसम्म प्राविधिक सहयोग पुर्याउने सम्झौतामा उल्लेख गरिएको छ ।
त्यस्तै, नेपाल र कोरियाका स्टार्टअपहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी र प्रवर्द्धन गर्ने, व्यवसायिक नेटवर्किङका अवसर सिर्जना गर्ने साथै मेन्टरसिप र सीप आदानप्रदान गर्ने सहमति भएको छ । दुई संस्थाबीच संयुक्त कार्यशाला, प्रशिक्षण र अनुभव आदानप्रदान मार्फत दुवै देशका नवप्रर्वद्धन व्यवसायीलाई लाभ हुने विश्वास गरिएको छ ।
यसैगरी, दुबै देशका व्यवसायी तथा उद्यमशील युवाबीच एक अर्काका देशमा भ्रमण मार्फत व्यवसाय प्रवर्द्धन गर्ने, एकअर्काको बजारमा सम्भाव्यताका अवसर खोज्ने र नयाँ सम्भावनाहरू विकास गर्ने योजना पनि सम्झौतामा उल्लेख छ । साथै, कोरियाबाट सीप सिकेर फर्किएका युवाहरूको लगत संकलन गरी, उनीहरुको उद्यमशीलता क्षमता अभिवृद्धि र व्यवसायिक सञ्जाल विस्तारमा नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने भएको छ ।
खासगरी कृषि व्यवसाय, जडिबुटी तथा वन र साना-मझौला उद्यम विकासलाई प्राथमिकतामा राख्दै गरिएको यो सहकार्य सम्झौताले नेपालमा उद्यमशीलताको वातावरणलाई थप मजबुत बनाउने चेम्बरले विश्वास व्यक्त गरेको छ । यस सम्झौताले नेपाली कृषक, उद्यमी र नवप्रर्वद्धन व्यवसायीलाई अन्तर्राष्ट्रिय अनुभव र सीप सिक्ने अवसर दिलाउने मात्र नभई दुबै देशबीच दीगो आर्थिक साझेदारीको बाटो खोल्ने अपेक्षा गरिएको छ ।