काठमाडौं । डिफेन्डिङ च्याम्पियन निरज तामाङले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा उक्लिएका छन् । ५४ होलको खेल सकिंदा निरजले समग्रमा १०–अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् ।
एमेच्योर सदभावले पनि ४–अन्डर ६४ स्कोर गर्दा समग्रमा ९–अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए । दोस्रो दिनका लिडर विष्णु प्रसाद शर्माले १–ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६–अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा तल झरे । समग्रमा ५–अन्डर १९९ सहित दिनेश प्रजापति चौथो स्थानमा यथावत रहे । उनले आज १–अन्डर ६७ को स्कोर निकाले। एमेच्योर गल्फर राहुल विके समग्रमा २–अन्डर २०२ सहित पाँचौं स्थानमा रहे । उनले पनि आज १–अन्डर ६७ मा खेल सकाए ।
इभन–पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १–अन्डर २०३ सहित छौटौं स्थानमा छन । नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन–पार २०४ सहित सातौं स्थानमा उक्लिए । उनले तेस्रो दिनको खेल १–अन्डर ६७ मा सकाए । समग्रमा २–ओभर २०६ बनाएका वसन्त राज गुरूङ, रामे मगर र प्रदीप कुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहे । वसन्त र रामेले ३–अन्डर ६५ र प्रदीपले इभन–पार ६८ को स्कोर दर्ज गरे ।
रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा सुरूवात राम्रो गरे । दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । नवौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३–अन्डर ३१ मा पुरा गरे । यसपछि १०औं र ११औं होलमा बर्डी प्रहार गरे भने १२औं होलमा बोगी खेल्दै ब्याक नाइनमा १–अन्डर ३३ को स्कोर निकाले ।
सदभावले बोगी रहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे । फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन ३–अन्डर ३१ मा सकाए । उनले चौथो, दशौं, तेर्हौ र सत्रौं होलमा बर्डीको सफलता प्राप्त गरे । विष्णुले फ्रन्ट नाइन १–अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक–एक सट खेर फाले । ब्याक नाइनमा भने उनले लय गुमाए । १०औं होलमा बर्डी प्रहार गरेपनि १५औं, १६औं र १७औं होलमा बोगी खेप्दै २–ओभर ३६ मा सकाए ।
कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन । विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन । साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ ।