काठमाडौं । डिफेन्डिङ च्याम्पियन लालीगुराँस नेसनल एकेडेमीले तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । लालीगुराँसले २९ स्वर्ण, ६ रजत र ११ कांस्यसहित उपाधि रक्षा गर्यो ।
तार्केश्वर नगरपालिका, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा हिमरश्मि १३ स्वर्ण, २६ रजत र १४ कांस्य जित्दै दोश्रो भयो । गत संस्करणमा पनि हिमरश्मि उपविजेता भएको थियो । पहिलो संस्करणमा भने हिमरश्मिले टिम च्याम्पियनको उपाधि उचालेको थियो । तेश्रो भएको किन्डर गार्टेनले ८ स्वर्ण, ३ रजत र १ कांस्य हात पार्यो । चौथो स्थानको मानसिंह धर्म माविले ५ स्वर्ण, ६ रजत र ३ कांस्य प्राप्त गर्यो । शीर्ष चार स्थानमा रहनेले क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरे ।
एथलेटिक्समा लालीगुराँस १९ स्वर्ण, ४ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बन्यो । करातेमा पनि टिम च्याम्पियन बन्ने क्रममा लालीगुराँसले ६ स्वर्ण, १ रजत र २ कांस्य जित्यो । तेक्वान्दोमा कौशल ३ स्वर्ण, २ रजत र १ कांस्यसहित टिम च्याम्पियन भयो । उसुमा टिम च्याम्पियन बनेको किन्डर गार्टेनले ८ स्वर्ण, ३ रजत र १ कांस्य हात पार्यो । टेबलटेनिसमा हिमरश्मि २ स्वर्ण र १ रजतसाथ टिम च्याम्पियन भयो । ब्याडमिन्टमा १ स्वर्ण र २ रजत जितेको हिमरश्मि टिम च्याम्पियन बन्यो ।
सेक्रेड हार्टले छात्र/छात्रा दुवैमा फुटबलको उपाधि चुम्यो । कबड्डीको छात्रमा सेक्रेड हार्ट र छात्रामा हिमरश्मि पहिलो भए । भलिबलको छात्रमा एन्जल्स हार्ट र छात्रामा मानसिंह धर्म माविले उपाधि जिते । जुनियर ब्वाइजमा लालीगुराँस र सिनियर गर्ल्समा हिमरश्मिले बास्केटबल उपाधि चुमे ।
विजेतालाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, उपमेयर सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ‘खेल तार्केश्वरको, सन्देश एकताको’ भन्ने नारासहित मंसिर १८ गतेदेखि सुरु प्रतियोगितामा विभिन्न १० खेलमा प्रतिस्पर्धा भएको थियो । ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडीले सहभागिता जनाएको कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सिनाले जनाएका छन् ।