काठमाडौं । पोखरामा सम्पन्न प्रथम केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाइनल खेलमा विभागीय क्लव त्रिभुवन आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो ।
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले र दोस्रो खेलमा मधेश प्रदेशले विभागीय क्लव एपीएफलाई ११ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । मधेश प्रदेशले जितेको यो पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता समेत हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । त्यसपछि, १ सय ३६ रनको मध्यम विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन मात्र जोड्न सक्यो ।
विभागीय क्लव आर्मीका लागि कप्तान विनोद भण्डारीले ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाएका थिए । विवेक यादवले १४ बलमा २ चौका र २ छक्कासहित अविजित २५ रन र भिम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहेन ।
ओपनर सन्तोष कार्की १३ बलमा ३ चौकासहित १६ रनमा आउट भएका थिए भने सोमपाल कामी १५ बलमा १६ रनमा अविजित रहेका थिए । आर्मीका रोहित पौडेल ५ रनमा, राजेश पुलामी मगर ३ रनमा, बासिर अहमद २ रनमा र कुशल मल्ल शुन्यमा आउट भएका थिए ।
मधेश प्रदेशका लागि हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै, प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिएका थिए । प्रतिक यादवले ३ ओभरमा १४ रन खर्चेर १ विकेट हात पारेका थिए ।
त्यसअघि, सुरुवातमा ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । मधेशका लागि तल्लोक्रमका ब्याटर विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रनको अविजित इनिङ खेलेका थिए ।
मधेशका ओपनर हरिशंकर शाह २१ बलमा ३ चौका र २ छक्कासहित २७ रनमा, हिमान्शु दत्त १४ रनमा, विशाल शुश्लिङ १० रनमा, पवन सरार्फ ९ रनमा, इमरान शेख ८ रनमा, अनिलकुमार शाह ६ रनमा र मयन यादव ३ रनमा आउट भएका थिए ।
आर्मीका लागि साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै, विवेक यादवले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले समान १/१ विकेट लिएका थिए । मधेशले समूह चरणमा पुलिसलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनल खेलेको थियो ।
उपाधि सहित मधेश प्रदेशले ५ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मंसिर ७ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १२ टिमको सहभागीता रहेको थियो ।