काठमाडौं । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेटमा विभागीय त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा आज बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको हो ।
बागमतीले जितको लागि दिएको १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्न सफल भयो । आर्मीको जितमा भीम सार्कीले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३९ रनको योगदान गरेका थिए ।
यस्तै, कुशल मल्लले ८ बलमा ४ छक्कासहित २७ रन, ओपनर तथा कप्तान विनोद भण्डारीले १२ बलमा ३ चौका र २ छक्कासहित २५ रन, सुजन थपलियाले २१ रन र मनिष थापाले १६ रनको योगदान गरेका थिए । सोमपाल कामी १४ बलमा १ छक्कासहित १५ रनमा नटआउट रहेका थिए ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ३४ रन खर्चेर सर्वाधिक २ विकेट लिएका थिए । यस्तै, प्रतीश जिसी, इशान पाण्डे, सोनु देवकोटा र रीत गौतमले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । बागमतीका लागि प्रतिक श्रेष्ठले ३५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनको नटआउट अर्धशतकीय इनिङ खेलेका थिए ।
यसैगरी कप्तान सन्दीप लामिछानले २२ बलमा २ चौका र १ छक्कासहित १९ रन, रीत गौतमले १४ रन, इशान पाण्डेले १२ रनको योगदान गरेका थिए । आर्मीका लागि साहब आलमले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । सोमपाल कामीले २ र विवेक यादवले १ विकेट लिएका थिए ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलको दोस्रो खेल एपिएफ क्लब र मधेस प्रदेशकाबीच हुँदैछ । आर्मीले यी दुई टोलीबीचको विजेतासँग फाइनल खेल खेल्नेछ । यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।