काठमाडौँ । आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको हो ।
मलेसियाका लागि ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाएका थिए । मलेसियाले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो । मलेसियाका ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
अहमद जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाएका थिए । शार्विन मुनिआन्दी १३ रनमा र अहमद फैज ३ रनमा आउट भएका थिए । स्पिनर सन्दीप लामिछानेले विरनदीप सिंहलाई ४ रनमा एलबीडब्लू आउट गरेका थिए भने मोहम्मद आमिरलाई अभिनाश बोहराले ८ रनमा बोल्ड आउट भएका थिए । फिर्ती सामले ६ रन र विजय उन्नीले १३ रन बनाएका थिए ।
नेपालका लागि तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिएका थिए । गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कप्तान रोहितकुमार पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए ।
नेपालमा सोमबारदेखि सुरु भएको टि-२० विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेटको सहज जित निकालेको नेपाल आज मलेसियालाई हराएर सेमिफाइनल पुग्ने दाउमा छ ।
समूह 'ए' मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन् । समूह 'बी' मा युएई, हङकङ, बहराइन र कुवेत रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउने छन् ।