काठमाडौं । नेपाल त्रिदेशीय टी-२० आई क्रिकेट सिरिजमा लगातार तेस्रो जितसँगै फाइनलमा प्रवेश गरेको छ । शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । यस जितसँगै नेपाल ३ खेलबाट ६ अंक जोड्दै फाइनल पुगेको छ ।
नेपालले सिरिजको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने सिरिजको दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । तेस्रो जितसँगै आयोजक नेपाल शीर्षस्थानमा रहेर फाइनल पुग्दा अन्य टोलीले भने सिरिजमा अंक जोडेका छैनन् ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङमा २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । ब्याटिङ जस्तै बलिङमा समेत नेपालले उत्कृष्ट प्रदर्शन गर्दा हङकङले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि तीव्र गतिका बलर करण केसीले इनिङको दोस्रो बलमै ओपनर मार्टिन कोट्जीलाई शून्यमा बोल्ड आउट गरेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । स्पिनर ललित राजवंशीले तेस्रो ओभरमा कप्तान निजाकत खानलाई २ रनमा क्याच आउट गराएका थिए ।
हङकङका लागि अंशुमान रथले ४२ बलको सामना गर्दै सर्वाधिक ४५ रन बनाएका थिए । तीव्र गतिका बलर सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा बाबर हायातलाई १५ बलमा ३ चौकासहित २० रनमा पेभेलियन फर्काएका थिए । अजिज खानले २४ बलको सामना गर्दै २५ रन बनाएका थिए ।
त्यसपछि, हङकङले लगातार विकेट गुमाएपछि लक्ष्यसम्म पुग्न सकेन । नेपालका लागि सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशीले समान २/२ विकेट लिएका थिए । दीपेन्द्रसिंह ऐरी र टी-२० आईमा डेब्यु गरेका प्रतिश जि.सीले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । औसत सुरुवात पाएको नेपालले पाँचौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १ सय ४५ रनको विश्व कीर्तिमानी साझेदारी गर्दै बलियो योगफलसम्म पुर्याएका थिए ।
टी-२० आई क्रिकेटमा पाँचौ विकेटका लागि भएको यो नै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि यो विश्व कीर्तिमान न्युजिल्यान्डका मार्क च्यापमान र जेम्स निशमको नाममा रहेको थियो । न्युजिल्यान्डका मार्क र जेम्सले पाकिस्तानविरुद्ध १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए ।
कुशल मल्लले टी-२० आई क्रिकेटमा आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ४१ बलमा ९ छक्का ३ चौकासहित ९२ रनको आक्रामक इनिङ खेलेका थिए । दीपेन्द्रसिंह ऐरीले टी-२० आई क्रिकेटमा आफ्नो करिअरको सातौं अर्धशतक जोड्ने क्रममा ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
नेपालले दोस्रो ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई २ रनमा गुमाएको थियो । पाँचौ ओभरको पहिलो बलमा सोमपाल कामी ठूलो सट खेल्ने धुनमा १२ बलमा ८ रन जोडेर क्याच आउट भएका थिए । ओपनर आसिफ शेख पनि छैटौं ओभरको अन्तिम बलमा १३ बलको सामना गर्दै ४ चौकासहित २० रन जोडेर आउट भएका थिए ।
कप्तान रोहितकुमार पौडेल १६ बलको सामना गर्दै ११ रन जोडेर नवौं ओभरको पहिलो बलमा बोल्ड आउट भएपछि क्रिजमा दीपेन्द्रसिंह ऐरी आएका थिए । हङकङका लागि मोहमद घजन्फ़र र हरुन अर्षदले समान २/२ विकेट लिएका थिए । आयुष शुक्ला र एजाज खानले समान १/१ विकेट लिएका थिए ।
टी-२० आई विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । सिरिजमा आयोजक नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल (अक्टोबर २७) कात्तिक १० गते शुक्रबार दिउँसो ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
त्रिदेशीय सिरिजको नेपालको खेल तालिका र समय :
कार्तिक ६ गते (अक्टोबर २३) : नेपालविरुद्ध युएई, मुलपानी - दिउँसो ११ बजे
त्रिदेशीय सिरिजको लागि नेपालको टोली :
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।