काठमाडौं । नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चको अध्यक्षमा धनलाल जैसी पुनः निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न साधारण सभा तथा प्रथम अधिवेशनमार्फत अध्यक्षमा कान्तिपुर म्यानपावर सर्भिस प्रा.लि.का सञ्चालक जैसी पुनः निर्वाचित भएका हुन् ।
मञ्चको उपाध्यक्षमा हेराल्ड इन्टरनेशनल प्रा.लि.का सञ्चालक परमेश्वर अधिकारी र पाल्ही ओभरसिज प्रा.लि.का ज्ञानबहादुर तामाङ निर्वाचित भए । मञ्चको महासचिवमा आकृति रिक्रुटिङ प्रा.लि.का सञ्चालक कुन्छा दोर्जे दिमदोङ निर्वाचित भएका छन् ।
मञ्चको सचिवमा माइलस्टोन इम्प्लोइमेन्ट ओभरसिज प्रा.लि.का सञ्चालक बासु पुडासैनी, कोषाध्यक्षमा युनिभर्सल एचआर सोलुसन प्रा.लि.का सञ्चालक भरत सापकोटा निर्वाचित भएका छन् । यस्तै मञ्चको कार्यसमिति सदस्यहरुमा सरस्वती सिग्देल, विजय लामा, नवराज पाण्डे, हरि गिरी, वीरबहादुर शिरीष, सरोज फुयाँल र सुशान्त अर्याल चयन भएका छन् ।
यस्तै मञ्चको साधारण सभाले वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पारित गरेको छ । २०६४ सालमा स्थापना भएको संस्थाले पहिलो पटक साधारण सभा तथा अधिवेशन गरेको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।
कार्यक्रममा पूर्व श्रममन्त्री यादवले गणतान्त्रिक मञ्च अन्य व्यवसायीको तुलनामा फरक हुनुपर्ने बताएका थिए । ‘कांग्रेस, एमाले निकट वैदेशिक रोजगार व्यावसायी भन्दा हामी फरक हुनुपर्छ । हामीले श्रमिकको हितलाई ध्यानमा राख्नुपर्छ,’ यादवले भने, ‘श्रमिकहरूलाई विदेश पठाएर मात्र हुँदैन । उनीहरूले विदेशमा पुगेपछि त्यही अनुसार काम, सेवा सुविधा पाएको छ कि छैन, त्यसमा हामी सचेत हुनपर्छ ।’