काठमाडौं । हङकङलाई हराउदै नेपालले चार देश सम्मिलित महिला टी–२० आई सिरिजको उपाधि जितेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज (शनिबार) भएको फाइनलमा हङकङलाई डकवर्थ लविस पद्धतिको आधारमा १३ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो । हङकङले जितको लागि दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले ५ दशमलव ३ ओभरमा ३७ रन जोड्दा अचानक खराब मौसमका कारणले खेल रोकिएको थियो ।
नेपालकी इन्दु बर्मा र सीता रानामगर नरआउट क्रिजमा थिइन् । इन्दु १९ बलमा २ चौकासहित १९ रन र सीता १३ बलमा १ चौकासहित १३ रन बनाएर खेलिरहेकी थिइन् । नेपालले ओपनर काजोल श्रेष्ठलाई पहिलो बलमै गुमाएको थियो ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । हङकङका लागि कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाइन् ।
मारिना एन्तोनियाले २० बलमा २ चौकासहित १९ रन बनाइन् । चौथो विकेटका लागि केरी र मारिनाले ३० रनको साझेदारी गरेका थिए । त्यस्तै, याशमिन दासवानीले ११ रन, इक्रा साहरले १० रन तथा शान्जिन शाहजादले अविजित १४ रन बनाइन् ।
बलिङतर्फ नेपालका लागि लेग स्पिनर खुशी डंगोलले ३ ओभरमा २० रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । अश्मिना कर्माचार्य र कविता जोशीले समान १/१ विकेट लिइन् । सिरिजमा मलेसियाले कुवेतलाई हराउँदै तेस्रो बनेको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका थिए ।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसिायासँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै, हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो ।
आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत गरी चार राष्ट्र महिला टी–२० सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो । मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन् । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ । समूह ‘बी’ मा ५ टिम छन् । प्रतियोगिताबाट दुई टिम २०२४ को ग्लोबल महिला टी–२० विश्वकप छनोटमा पुग्ने छन् । विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्ने छन् ।