काठमाडौं । मिडफिल्डर एइटाना बोनामाटीले दुई गोलसँगै दुई असिस्ट प्रदान गरेपछि स्पेनले स्वीट्जरल्याण्डमाथि सानदार जित निकाल्दै फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनल यात्रा तय गरेको छ । स्पेनले शनिबार भएको खेलमा स्वीट्जरल्याण्डमाथि ५–१ गोलअन्तरको जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा गोलको वर्षा भएको खेलमा स्पेनको सानदार जितमा एइटाना बोनमाटीले दुई गोल तथा अल्वा रेडोन्डोले, लिया कोडिनाले र जेनिफर हर्माेसोले समान एक/एक गोल गरिन् । एकतर्फी खेलमा स्वीट्जरल्याण्डले एक उपहार गोल पाएको थियो ।
स्वीट्जरल्याण्डविरुद्ध सुरुदेखि नै हावी भएको खेलको पाँचौं मिनेटमा नै अल्वा रेडोन्डोको पासमा एइटाना बोनामाटीको गोलबाट स्पेनले सुरुवाती अग्रता लिन सफल भएको थियो । तर, ११औं मिनेटमा स्पेनकी लिया कोडिनाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो ।
खेलको १७औं मिनेटमा एइटानाको पासमा अल्वा रेडोन्डोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाइन् । खेलको ३६औं मिनेटमा एइटाना बोनामाटीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै स्पेनलाई ३–१ गोलअन्तरले अघि बढाइन् ।
खेलको ४५ औं मिनेटमा लाइए कोडिनाले गोल गरेपछि स्पेन पहिलो हाफमा नै ४–१ गोलअन्तरको फराकिलो अवस्थामा पुगेको थियो । खेलको ७०औं मिनेटमा एइटाना बोनामाटीको पासमा जेनिफर हर्माेसोे गोल गर्दे स्पेनलाई ५–१ गोलअन्तरको सानदार जित दिलाइन् ।
समूह चरणमा स्वीट्जरल्याण्ड समूह ‘ए’ को विजेता बनेको थियो भने स्पेन समूह ‘सी’ को उप विजेताको हैसियतमा प्रि–क्वाटरफाइनलमा भेट भएका थिए । अब स्पेनले नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको विजेतासँग ११ अगस्टमा क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।