काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । काठमाडौँमा आज शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले सन्यासको घोषणा गरेका हुन् ।
ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण विराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताए । ज्ञानेन्द्रले सन् २००५ देखि उमेर समुहको यू–१५ टोलीबाट यात्रा सुरु गरेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट खेल खेलेका थिए ।
ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय सिनियर टिममा डेब्यू गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डसँग नेपालको जर्सीबाट अन्तिम खेल खेलेका हुन् ।
त्यसयता डेढ दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका ज्ञानेन्द्र सन् २००९ मा पारस खड्का कप्तान हुँदा उनी १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तान बनेका थिए । सन् २०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाएका थिए ।
ज्ञानेन्द्र २०२१ मंसिर सम्म नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहेका थिए । तर, खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ क्यानबाट अनुशासनको कारबाहीस्वरुप उनले कप्तान पद गुमाएका थिए ।
कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्वकप छनोट र युएईमा लिग टू खेले । तर, त्यसपछि भने उनी टिममा पर्न छाडेका थिए । नेपाली क्रिकेट इतिहासका एक सफल टेक्निकल ब्याटर ज्ञानेन्द्र ओडिआईमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् ।
ज्ञानेन्द्रले गत वर्ष साउनमा नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीय क्रिकेटमा राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए । ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका उनले ४५ टी-२० अन्तराष्ट्रिय खेलमा ८ सय ८३ रन बनाएका छन् ।
नेपाली क्रिकेट इतिहासकै एक उत्कृष्ट ब्याटर ज्ञानेन्द्रले २०१४ को डिभिजन थ्रीमा सिंगापुरविरुद्ध १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । ज्ञानेन्द्रले ७५ लिष्ट ए खेलमा १७ सय ८२ रन बनाउँदा ६८ टी–२० मा १२ सय ६७ रन बनाएका छन् ।