काठमाडाैं, २३ असार– रूसमा जारी विश्वकप फुटबलका हरेक खेलहरूमा नयाँ इतिहाँस रचिएका छन् । यस्तै इतिहाँस हिजाेकाे ब्राजिल र बेल्जियमकाे खेलमा पनि रचियाे । पाँच पटक विश्वकपकाे उपाधि चुमेकाे राष्ट्र ब्राजिल क्वाटर फाइनलबाट नै बाहिरीएकाे छ । पाँचपटकको विश्वकप विजेता ब्राजिल बेल्जियमसँग ५५ वर्षपछि पराजित भएको हाे ।
बेल्जियमले २-१ गोल अन्तरले ब्राजिललाई पराजित गर्दै अाफ्नाे सेमिफाइनल यात्रा तय गरेकाे छ । । बेल्जियम ३२ वर्षपछि विश्वकपकाे सेमिफाइनलमा पुग्न सफल भएकाे हाे । यसअघि बेल्जियमले सन् १९८६ मा भएकाे विश्वकपमा सेमिफाइनल खेलेकाे थियाे ।
ब्राजिल सन् १९६३ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमसँग पराजित भएको थियो । त्यसयता भएका भेटमा सधैँ ब्राजिलले बाजी मार्दै आएको भए पनि शुक्रबारकाे खेलमा भएकाे हार ब्राजिलका लागि अनपेक्षित थियाे ।
हालसम्म सर्वाधिक विश्वकप उपाधि जितेकाे ब्राजिलका लागी १३ औं मिनेटमा भएकाे आत्मघाती गोल नै हारको मूल कारण बन्यो । खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्माघाती गोल गरेपछि ब्राजिल १–० ले पछि परेको थियो । बेल्जियमका लागि केभिन डी ब्रुइनले ३१ औं मिनेटमा गाेल गर्दै २-० काे अग्रता कायम गरे । रोमेरु लुकाकुको पासमा ब्रुइनले गोल गरेका थिए ।
पहिलो हाफमै २–० ले पछि परेको ब्राजिलले खेलकाे उत्तरार्धतिर ७६औं मिनेटमा एक गोल फर्काउन सक्याे, तर याे गाेल जितका लागि पर्याप्त थिएन ।
कठिन यात्राका बाजुद पनि बेल्जियम सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयाे । समूह चरणका सबै खेल जितेको भए पनि नकअाउट चरणका खेलमा बेल्जियमले जापान विरूद्ध उत्कृष्ट पुनरागमन गर्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेकाे थियाे । विश्वकपको इतिहासमा यस्तो पुनरागमन गरेर खेल जित्ने बेल्जियम पछिल्लो ४८ वर्षपछिकाे पहिलो टिम बनेकाे छ ।
हिजाे भएकाे ब्राजिल र बेल्जियमकाे खेलमा ब्राजिलले अात्मघाति गाेलकाे नराम्राे मूल्य चुकाउनु पर्याे । बेल्जियमलार्इ एक गाेल उपहार दिँदै ब्राजिल घर फर्किन बाध्य भयाे ।