काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको पहिलो खेलमा थाईल्यान्डमाथि सानदार जित निकालेको छ । मलेसियाको बांगीमा बुधबार भएको खेलमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको हो ।
नेपालले पहिलो जितसँगै सेमिफाइनलमा स्थान बनाएको छ । पराजित थाईल्यान्ड भने प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । थाईल्यान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग १ सय १८ रनले पराजित भएको थियो । नेपालले जितको लागि दिएको २ सय ७० रनको विशाल विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भयो ।
थाईल्यान्डका लागि ईशान बेर्नोजीले १२ बलमा ३ चौकासहित सर्वाधिक १६ रन बनाएका थिए । ओपनर डानुफोनले १२ रन बनाउँनु बाहेक थाईल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको घातक बलिङ सामु थाईल्यान्डका सात ब्याटर शुन्य रनमा आउट भएका थिए ।
नेपालका लागि स्पिनर सन्तोष यादवले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ह्याट्रिकसहित सर्वाधिक ५ विकेट लिएका थिए । अशोक धामीले ३ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । कप्तान अभिषेक तिवारीले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रनको विशाल योगफल खडा गरेको थियो । नेपालका लागि ओपनर निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनको सानदार अर्धशतकीय ईनिङ खेलेका थिए । यादव स्पिनर ईशान बानेर्जीको बलमा जित सादाबाट क्याच हुन पुगेका थिए । यादवले २१ बलमै अर्धशतक पूरा गरेका थिए ।
नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले पहिलो विकेटका लागि १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सुर्यांशु कोइराला ५५ बलमा ३ चौकासहित ४० रनमा स्पिनर जित सादाको बलमा बोल्ड आउट भएका थिए ।
नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहेका थिए । सन्तोष यादव ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा आउट भएका थिए । कप्तान अभिषेक तिवारी १४ रनमा, आषिश लुहार १३ रनमा र अशोेक धामी ५ रनमा आउट भएका थिए ।
थाईल्यान्डका लागि निटपाखन मनुवुनले ६ ओभरमा ५० रन खर्चेर २ विकेट लिएका थिए । ईशान बानेर्जीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । पनुवातले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । स्पिनर जित सादा र पियावत नोद्रीले समान १/१ विकेट लिएका थिए ।
सात टोलीको सहभागीता रहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेएसिया छन् । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल खेल ३ जुलाई र फाइनल खेल ४ जुलाईमा हुनेछ ।
नेपालको यू-१६ टोली :
अभिषेक तिवारी (कप्तान), आषिश लुइटेल (विकेटकिपर), दीप भुजेल, कार्तिक कामत, प्रतिक पोखरेल, निरज यादव, सुर्यांशु कोइराला, सन्तोष यादव, अशोक धामी, सचिन मल्ल र नरेन भट्ट ।