काठमाडौं । कप्तान शाई होप र निकोलस पुरनको शतकमा आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालमाथि वेस्ट इन्डिजले शानदार जित निकालेको छ । जिम्बावेको हरारे स्पोर्टस् क्लब क्रिकेट मैदानमा बिहीबार भएको आफ्नो तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
चार पटकको विश्वविजेता वेस्ट इन्डिजले जितको लागि दिएको ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २ सय ३८ रनमा अल आउट भयो । नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६३ रनको अर्धशतकीय ईनिङ खेलेर आउट भएका थिए ।
गुलशन झा ५८ बलमा ५ चौका र १ छक्कासहित ४२ रनमा आउट भएका थिए । सातौं विकेटका लागि आरिफ शेख र गुलसन झाले ९४ बलमा ६८ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । नेपालका ब्याटर वेस्ट इन्डिजको बाउन्सर सामु धेरै समय क्रिजमा टिक्न सकेनन् ।
कप्तान रोहितकुमार पौडेलले ४३ बलमा ३ चौकाको सहयोगमा ३० रनमा आउट भएका थिए । ओपनर आसिफ शेख ३६ बलमा ३ चौकासहित २८ रनमा आउट भए । करण केसीले २७ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी २० बलमा २ चौका र १ छक्कासहित २३ रनमा आउट भएका थिए ।
तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल पाँच रनमा बोल्ड आउट भएका थिए भने जेसन होल्डरको पाँचौं ओभरको दोस्रो बलमा भीम सार्की २ रनमा विकेटकिपर शाई होपबाट क्याच आउट हुन पुगेका थिए । कुशल मल्ल २ रनमा अकिल हुसैनको बलमा केसी कार्टीबाट क्याच आउट भएका थिए ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले १० ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । अल्जारी जोशेफले १० ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । अकिल हुसैनले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर २ विकेट लिए । किमो पलले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान शाई होप र निकोलस पुरनले सानदार शतकीय ईनिङ खेलेका थिए । पुरनको ओडिआई करिअरमा दोस्रो र होपको १५ औं शतक हो ।
कप्तान तथा विकेटकिपर शाई होप १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १३२ रन बनाउँदै ललित नारायण राजवंशीको बलमा आउट भए । निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित ११५ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भएका थिए ।
चौथो विकेटका लागि शाई होप र निकोलस पुरनले १७२ बलमा २१६ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए । सुरुआत राम्रो गरेको नेपालले पहिलो पावर प्लेमा चार पटकको विश्व विजेता वेस्ट इन्डिजको दुई विकेट लिदै ३० रन मात्र दिएको थियो ।
नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई १ रनमा करण केसीको बलमा कुशल भुर्तेलबाट क्याच आउट गरेको थियो । पाँचौं ओभरको पहिलो बलमै वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई खाता खोल्नै नदिई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरेका थिए ।
तेस्रो विकेटका रुपमा ब्रेन्डन किंगलाई ४२ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा सन्दीप लामिछानेले बोल्ड आउट गरेका थिए । पाँचौं विकेटका रुपमा ललित राजवंशीले रोभमन पावेललाई २९ रनमा गुल्सन झाबाट क्याच आउट गराएका थिए । इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई १ रनमा बोल्ड गरे । जेसन होल्डर १० बलमा २ चौकासहित १६ रनमा अविजित रहेका थिए ।
नेपालका लागि स्पिनर ललित नारायण राजवंशीले १० ओभरमा ५२ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा ४५ रन खर्चेर १ विकेट लिएका थिए । करण केसीले १० ओभरमा १ मेडनसहित ८१ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८ ओभरमा ६४ रन खर्चेर १ विकेट लिएका थिए ।
नेपाल यसअघि आइतबार भएको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने मंगलबार भएको दोस्रो खेलमा अमेरिकामाथि ६ विकेटको जित निकालेको थियो । नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग असार ९ (जुन २४) मा खेल्नेछ ।
दुई खेलमा अपराजित वेस्ट इन्डिज ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै २ अंक रहेको नेपाल चौथो स्थानमा झरेको छ । सुपर सिक्समा स्थान बनाउन नेपालले शनिबार नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने हुन्छ भने सोमबारको खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।
अमेरिका भने समूह ‘ए बाट लगातार तीन हारको साथ बाहिरिएको छ । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दश टोली सहभागी यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।