काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लब क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो ।
विश्वकप छनोट प्रतियोगितामा पहिलो जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ । अमेरिकाले जितको लागि दिएको २ सय ८ रनको मध्यम विजयी लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको शानदार जितमा भीम सार्कीले १ सय १४ बलमा ७ चौका र १ छक्कासहित अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहेका थिए । दीपेन्द्रले सौरभ नेत्रवालकरलाई चौका हान्दै खेल सकाएका थिए ।
त्यसअघि, पहिलो विकेटका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ३० बलमा २५ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । चौथो ओभरको दोस्रो बलमा जीवनदान पाएका आसिफ शेख १२ रन बनाउँदै पाँचौ ओभरको अन्तिम बलमा सौरभ नेत्रवालकरबाट एलबिडब्लु आउट भएका थिए ।
अर्का ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट हुन पुगेका थिए । कुशल भुर्तेल स्पिनर नोष्तुश केन्जिगेको १७ औं ओभरको दोस्रो बलमा कट एण्ड बोल्ड आउट भएका थिए । दोस्रो विकेटका लागि भीम सार्की र कुशल भुर्तेलबीच ६८ बलमा ४९ रनको महत्वपुर्ण साझेदारी भएको थियो ।
कप्तान रोहितकुमार पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भएका थिए । स्पिनर निसर्ग पटेलको बलमा रोहित जेसी सिंहबाट क्याच आउट भएका थिए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । मल्ल स्टिभ टेलरको बलमा लङअफमा जेसी सिंहबाट क्याच आउट भएका थिए ।
अमेरिकाका लागि सौरभ नेत्रवालकर, नोष्तुश केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक/एक विकेट लिएका थिए । त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो ।
अमेरिकाका लागि सातौं नम्बरमा ब्याटिङ गरेका विकेटकिपर शायन जहांगिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको सानदार शतकीय इनिङ खेलेपनि टोलि जितको लागि पर्याप्त हुन सकेन । शायनको यो अन्तर्राष्ट्रिय करिअरको कुनैपनि खेलको पहिलो शतक हो ।
करण केसीको घातक बलिङसँगै १८-४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई खेलमा फर्काउन शायनले सानदार शतक हानेका थिए । स्पिनर ललितनारायण राजवंशीले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गरेका थिए । स्वीप खेलेका मोदानी मिस भएपछि बोल्ड हुन पुगेका थिए । उनले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । वेस्टइन्डिजविरुद्ध शतक हानेका गजानन्द सिंह ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भएका थिए ।
गजानन्द स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । आउट साइड एज लागेको बल विकेटकिपर आसिफ शेखको खुट्टामा लागेर आरिफ शेखले क्याच लिएका थिए । पाँचौ विकेटका लागि गजानन्द र सुशान्तले ७३ बलमा ४७ रनको साझेदारी गरेका थिए ।
तीव्र गतिका बलर करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरेका थिए । गतवर्ष स्टिभ टेलरले नेपालविरुद्ध आफ्नो घरेलु मैदानमा १ सय १४ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
त्यसको लगत्तै करणले अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्लालाई शून्यमा आउट गरे । साइतेजा आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए । करणले आठौं ओभरको पाँचौं बलमा अमेरिका कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए ।
करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको थियो । जेसी सिंह १२ रनमा र निसर्ग पटेल ८ रनमा आउट भएका थिए । अमेरिकाका शीर्ष चार ब्याटरलाई आउट गरेका करण केसी खेलको 'प्लेयर अफ दि म्याच' चुनिएका थिए ।
नेपालका लागि तीव्र गतिका बलर करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिएका थिए ।
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो पटक लगातार दोस्रो ओडिआई खेलमा विकेट विहीन बनेका हुन् । जितसँगै २ अंकका साथ नेपाल समूह ‘ए’ को तेस्रो स्थानमा उक्लिएको छ । पराजित अमेरिका भने चौथो स्थानमा झरेको छ ।
यसअघि आइतबार भएको खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । अब, नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ (जुन २२) मा खेल्नेछ भने समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग असार ९ (जुन २४) मा खेल्नेछ ।
जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दश टोली सहभागी यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।