काठमाडौं । युवा विंगर बुकायो साकाको ह्याट्रिक तथा कप्तान ह्यारी केनको दुई गोलको मद्दतमा युरोकप छनोटमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ । ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा सोमबार राति भएको खेलमा इंग्ल्यान्डले नर्थ मासेडोनियालाई ७-० गोल अन्तरले हराएको हो ।
गोलको वर्षा भएको एकपक्षीय खेलमा इंग्ल्याण्डलाई फराकिलो जित दिलाउन युवा विंगर बुकायो साकाले ह्याट्रिक गोल गरेका थिए । कप्तान ह्यारी केनले दुई गोल तथा मार्कुस रासफोर्ड र काल्भिन फिलिप्सले समान एक/एक गोल गरेका थिए । छनोटमा इंग्ल्यान्डको यो लगातार चौंथो जित हो ।
खेलको २९औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३८औं मिनेटमा केल वाल्करको पासमा बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डको अग्रत दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयमा मार्कुस रासफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई ३-० को आरामदायी अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा इंग्ल्यान्डले थप चार गोल थप्यो । खेलको ४७औं मिनेटका ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा बुकायो साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४-० ले अघि बढाए । त्यसको चार मिनेटपछि नै ह्यारी केनको पासमा साकाले ह्याट्रिक गोल पूरा गरेर इङ्ल्यान्डलाई ५-० को फराकिलो जिततर्फ अघि बढाएका थिए ।
खेलको ६४औं मिनेटमा काल्भिन फिलिप्सले इङ्ल्यान्डका लागि छैटौं गोल गरेका थिए । त्यसपछि, खेलको ७३औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ७-० गोल अन्तरको फराकिलो सानदार जित दिलाएका थिए ।
समूह ‘सी’ मा लगातार चौंथो जित निकालेको गारेथ साउथगेटको टोली इंग्ल्यान्ड १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको युक्रेनको ३ खेलमा ६ अंक रहेको छ भने तेस्रो स्थानको इटालीको २ खेलमा ३ अंक रहेको छ । चौथो स्थानको नर्थ मासेडोनियाको ३ खेलमा ३ अंक छ भने अंकविहीन माल्टा पुछारमा रहेको छ ।
युरोकप छनोट अन्तर्गत नै टर्कीले वेल्सलाई २-० गोल अन्तरले हराएको छ भने आयरल्याण्डले जिब्राल्टरलाई ३-० गोल अन्तरले हराएको छ । डेनमार्क र स्लोभानियाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।