काठमाडौं । नेपालले जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज मंगलबार अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल टाकासिंगा स्पोर्टस् क्लब क्रिकेट मैदान हरारेमा नेपाली समय अनुसार मध्यान्ह पौने एक बजे सुरु हुनेछ ।
यसअघि आइतबार भएको खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । त्यसैले दुबै टोली आजको खेलमा जित निकाल्दै खाता खोल्न चाहन्छन् ।
नेपाल र अमेरिका यसअघि ६ ओडिआई खेलमा आमने सामने भएका थिए । जसमा नेपाल ३ पटक विजेता हुँदा अमेरिकाले २ पटक जितेको छ । दुईबीचको एक खेल भने टाई भएको थियो । आज दुवै टोली पहिलो जितको खोजीमा रहने हुँदा खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखिएको छ ।
नेपालले २०२० मा टियु मैदानमा अमेरिकालाई ३५ रनमा अल आउट गरेको थियो । ओडिआई इतिहासकै सबैभन्दा कम रनमा अमेरिकालाई अल आउट गर्न लेग स्पिनर सन्दीप लामिछानेले ६ विकेट लिएका थिए । त्यसैले पनि आज प्रमुख बलर सन्दीपको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
नेपालले आज टोलीमा एक परिवर्तन गर्ने पक्का छ । जिम्बावेविरुद्ध बलिङ गर्नेक्रममा बुढी औंलामा चोट बोकेका तीव्र गतिका बलर सोमपाल कामी आजको खेलमा उपलब्ध हुनेछैनन् । त्यसैले आज उनको स्थानमा स्पिनर ललितनारायण राजवंशी वा अन्ने एक तीव्र गतिका बलरलाई खेलाउनेछ ।
ब्याटिङक्रम उत्कृष्ट रहेको नेपाल आज ओपनर कुशल भुर्तेलबाट आक्रामक र आसिफ शेखबाट अर्को एन्डको उत्कृष्ट पारी चाहन्छ । तेस्रो नम्बरका भीम सार्की, चौथो नम्बरमा रोहित पौडेल र पाँचौं नम्बरका कुशल मल्लबाट विष्फोटक ब्याटिङ चाहन्छ ।
उता, अमेरिकाका भारतीय यू १९ र रणजी अनुभवीबायाँ हाते तीव्र गतिका बलर सौरभ नेत्रवालकरबाट नेपाल सचेत हुनुपर्छ । अमेरिका ओपनर स्टिभ टेलर नेपालविरुद्ध सधैं हाबी हुँदै आएका छन् । वेस्टइन्डिजविरुद्ध शतक हानेका गजानन्द सिंह, साइतेजा मुकामल्ला र कप्तान मोनांक पटेल पनि राम्रो लयमा छन् ।
नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ (जुन २२) मा खेल्नेछ भने समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग असार ९ (जुन २४) मा खेल्नेछ । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दश टोली सहभागी यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो ।
अमेरिकाको टोली :
मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स (उप-कप्तान), शयान जहाजिंगर, केंजिगे, अली खान, सुशान्त मोदानी, साईतेजा मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उस्मान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।