काठमाडौं । बलिङमा उत्कृष्ट प्रदर्शनका बाबजुद ब्याटिङ नचल्दा नेपाल एसीसी महिला इमर्जिङ टिम्स एशिया कपमा पाकिस्तानसँग पराजित भएको छ । हङकङको मोंगकोक टिंग मेसन रोड क्रिकेट मैदानमा मंगलवार भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टोलीसँग नौ रनले पराजित भएको हो ।
पाकिस्तानले जितका लागि दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर कविता कुँवरले ३२ बलमा सर्वाधिक २० रन बनाईन् । कविता जोशीले अविजित १५ रन बाहेक नेपाली टिमबाट अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ज्योति पाण्डे नौ रनमा अविजित रहिन् । सम्झना खड्काले सात रन, कप्तान रुबिना क्षेत्री र सीता रानामगरले समान ६/६ रन बनाईन् । इन्दु वर्माले चार रन र विन्दु रावलले तीन रन थपिन् । पाकिस्तानका लागि सईदा शाह र तुवा हसनले समान २/२ विकेट तथा अनुशा नासिर र उम्मि हानीले समान १/१ विकेट लिईन् ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो । पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा सर्वाधिक २८ रन बनाईन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा सदफ शामसले ८ बलमा १२ रन बनाईन् ।
गुल फेरोजाले १८ बलमा ११ रन बनाउँदा तुबा हसनले १४ बलमा १ छक्कासहित ९ रन बनाईन् । नेपाल का लागि इन्दु वर्माले सर्वाधिक तीन विकेट लिइन् । कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान २/२ विकेट लिइन् । नेपालले अब विहीबार १५ जुनमा समूहको दोस्रो खेलमा भारतको ‘ए’ टोलीको सामना गर्नेछ ।
नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ । थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको थियो । नेपाली महिला टोलीको यो अहिलेसम्म कै ठुलो प्रतियोगितामा पहिलो सहभागीता हो ।
समूह ‘ए’ मा नेपाल, हङकङ, भारतका ‘ए’ टोली र पाकिस्तानका ‘ए’ टोली रहेका छन् । समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंकाका ‘ए’ टोली रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ भने फाइनल २१ जुनमा हुनेछ ।