पोखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा क्रिकेटका करण केसी र फुटबलकी सावित्रा भण्डारी बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार पोखरामा सम्पन्न अवार्डमा दुवै जनाले टेल्जी नेपालको इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरेका छन् ।
आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्कालाई पछि पार्दै करण वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् । यसअघि यो विधाबाट सितेरियो कराँतेका हेमन गुरुङ, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, प्याराग्लाइडिङका युकेश गुरुङ, कराँतेका नविन रसाइली र टेनिसका प्रदीप खड्का पुरस्कृत भइसकेका छन् ।
आर्चरीकी रोजीना थापा मगर र आइटिएफ तेक्वान्दोकी सुष्मिता थापालाई पछि पार्दै सावित्रा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । यसअघि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी बिमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ, करातेकी सुष्मी श्रेष्ठ छन् । भलिबलकी अरुणा शाहीले २ पटक सर्वोत्कृष्ट महिला खेलाडी बनेकी थिइन् ।
लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका प्रशिक्षक विद्याप्रसाद मर्सानी सम्मानित भए । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट खेल संस्थातर्फको अवार्ड कास्की जिल्ला ह्यान्डबलसंघलाई प्रदान गरियो । वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई दिइयो ।
उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सवोत्कृष्ट ठहरिए । विधामा भलिवलका रवि केसी र फुटवलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारें । विधामा लनटेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार मनोनयनमा परेका थिए । विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरें ।
यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै क्रममा दुर्घटनामा परी गत असोज ३० गते निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको योगदानको कदर गर्दै कीर्तिशेष सम्मान गरियो । मञ्चले २०७२ सालदेखि निरन्तर अवार्ड कार्यक्रको आयोजना गर्दै आएको छ ।
विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलला घिसिङ, मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापा, प्रदेश सभा सदस्य प्रकाश बराल, सरस्वती गुरुङ लगायतले अवार्ड हस्तान्तरण गरेंका थिए ।