काठमाडौं । पोखरामा सुरु दोस्रो नेपाल-भारत दुई देशीय दृष्टिविहीन टी-ट्वान्टी महिला क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ । पोखरा क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विनिता पुनको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय शतकमा नेपालले भारतलाई ८ विकेटले हराएको हो ।
टस हारेर ब्याटिङ गरेको भारतीय महिला क्रिकेट टिमले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १७३ रनको योगफल तयार गरेका थियो । भारतकी गंगावा निलप्पाले अविजित ७२ रन, सिमु दासले २६ रन, दिपिका टि.सीले १६ रन, वर्षा यूले १० रन र सुस्मा पटेलले ९ रन बनाईन् । नेपालकी निषा चौधरीले १ विकेट लिइन् । भारतका अरु सबै ब्याटर रन आउट भएका थिए ।
जवाफि ब्याटिङमा नेपाली नेत्रहीन महिला क्रिकेट टिमले २ विकेट गुमाएर पूरा गर्यो । नेपालको सानदार जितमा विनिता पुनले ५७ बलमा १७ चौका सहित अविजित १११ रनको विष्फोटक शतकीय ईनिङ खेलीन् । विनिता खेलको 'प्लेयर अफ द म्याच' भईन् ।
विनिता नेत्रहीन महिला क्रिकेटको इतिहासमा अन्तराष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनेकी छिन् । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरेले अविजित २१ रन जोडिन् । जितसँगै नेपालले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।
नेत्रहीन क्रिकेट संघको आयोजनामा प्रतियोगिता बैशाख १७ गतेसम्म चल्नेछ । प्रतियोगिता पोखरामा १२ र १३ गते सञ्चालन हुनेछ भने १५, १६ र १७ गते काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट दृष्टिविहीन खेलाडीले क्रिकेट खेल्छन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ मा मध्यम दृष्टि र बी ३ न्यून दृष्टि भएका खेलाडी हुन्छन् । सिरिजको विजेताले ७५ हजार उपविजेताले ४५ हजार र 'प्लेयर द म्याच'ले ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।