काठमाडौं । बंगलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपाल पराजित भएको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रंगशालामा आइतबार भएको खेलमा नेपाललाई रसियाले ३-० गोल अन्तरले हराएको हो ।
नेपालले बलियो टोली रसियालाई खेलको ६२ औं मिनेटसम्म गोलरहित बराबरीमा रोकेपनि त्यसपछि रोक्न नसक्दा हार व्यहोरेको थियो । रसियाको जितमा एलिना गोलिकले दुई गोल तथा पोलिना फिलसिनाले एक गोल गरिन् ।
खेलको ६३ औं मिनेटमा एलिनाले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाईन् । खेलको ७४ औं मिनेटमा एलिनाले व्यक्तिगत दोस्रो गोल गर्दै रसियाको अग्रता अग्रता दोब्बर पारिन् ।
त्यसपछि, खेलको ८३ औं मिनेटमा फिलसिनाले गोल गर्दै रसियालाई ३-० को सहज जित दिलाईन् । यस जितसँगै अपराजित रहेको रसियाले साफको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । रसिया ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ खेलबाटै भारत र आयोजक बंगलादेशको समान ६/६ अंक रहेको छ ।
रसियासँग हार बेहोरेसँगै नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ । नेपाल पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई ५-० गोल अन्तरले पराजित गरेको थियो । नेपालको ३ खेलबाट ३ अंक रहेको छ ।
प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसिया सहभागी छन् । अब नेपालले मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।