काठमाडौं । पोखरामा सम्पन्न तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९ को पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ एपिएफ क्लब च्याम्पियन बनेका छन् ।
पोखरा रंगशालामा शनिबार पुरुषतर्फ फाइनलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै घरेलु टोली गण्डकीले उपाधि जितेको हो । घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५-१६ ले एपीएफलाई सुम्पिएको थियो ।
दोस्रो र तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः २५-१८ र २५-१९ ले खेल आफ्नो पक्षमा पार्न गण्डकी सफल भयो । तर चौथो सेट गण्डकीले अग्रता जोगाउन नसक्दा २८-२६ ले एपिएफलाई बुझायो । निर्णायक सेटको खेलमा गण्डकीले एपीएफलाई १५-८ ले जितेर गण्डकी च्याम्पियन बनेको हो ।
यो संगै गण्डकीले दोश्रो पटक उपाधि उचालेको हो । च्याम्पियन गण्डकीले ५ लाख नगदसहित ट्रफी पुरस्कार पाउन सफल भयो । उपविजेता एपीएफले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ । एपिएफले पाँच खेलसम्म अपराजित रहेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ विभागिय टोली नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । साविक विजेता समेत रहेको आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै पुलिसले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पायो । आर्मीले चौथो स्थान हासिल गर्दै ६५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
यता, महिलातर्फको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरी साविक विजेता एपीएफले लगातार दोस्रोपटक उपाधि जित्यो । पहिलो सेट २५-२० ले जितेको एपीएफले दोस्रो सेट आर्मीलाई २५-२२ ले सुम्पियो । तेस्रो सेटमा २५-८ ले खेल आफ्नो पक्षमा पारेको एपीएफले चौथो सेट २५-२२ अंकले जित्दै च्याम्पियन बनेको हो । च्याम्पियन एपीएफले ५ लाख नगदसहित ट्रफी पुरस्कार पाउन सफल भयो । उपविजेता आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ ।
महिलातर्फ होङवान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । न्यु डायमन्डले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पायो । गण्डकीले चौथो स्थान हासिल गर्दै ६५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ रवि र महिलातर्फ सरस्वती सर्वाेत्कृष्ट
प्रतियोगितामा पुरुषतर्फ गण्डकीका रवि केसी र महिलातर्फ एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही २५/२५ हजार र ट्रफी पुरस्कार प्राप्त गरे । यस्तै, प्रत्येक विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १० हजार रुपौयाँ तथा ट्रफी प्राप्त गरेका छन् ।
उत्कृष्ट पाँच विधामा महिलातर्फ उत्कृष्ट सेटर न्यु डायमन्डका प्रगतिनाथ, सर्भर गण्डकीका अरुणा शाही, ब्लकर आर्मीका संगम महतो, लिब्रो आर्मीका सरस्वती जैसी, स्पाइकर एपीएफका निरुता ठगुन्ना र प्रशिक्षक एपीएफका महेश चौधरी घोषित भए । पुरुषतर्फ उत्कृष्ट सेटर गण्डकीका विवश आले, लिब्रो एपीएफका विनोद चन्द, सर्भर गण्डकीका घनश्याम चौधरी, स्पाइकर एपीएफका टेकराज वस्ती, ब्लकर गण्डकीका नितिश र प्रशिक्षक गण्डकीका रमेश केसी घोषित भए ।
विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशका सांसदद्वय लिला बहादुर थापा, प्रकाश बराल लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा राखेपका सदस्य राजेश कुमार गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, संस्थाका सचिव डिवी नेपाली लगायतले आफ्ना भनाई राखेका थिए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ८ गतेबाट शुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको थियो ।