काठमाडौं । संकटा क्लबले २२ औँ संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालमा शनिबार भएको फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (बीवाइएससी)लाई ३–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो ।
संकटाको जितमा सुरज ज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे । पराजित विदेशी टिम भुटनिज युथ स्पोर्टस क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरेका थिए ।
संकटाले आहा-रारा गोल्डकपको उपाधि हात पारेको यो दोश्रो पटक हो । यसअघि, २०७७ को १९ औं संस्करणमा अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गर्दै संकटाले उपाधि हात पारेको थियो । संकटाले दुवै पटक विदेशी टिमलाई हराउँदै च्याम्पियन बनेको हो ।
खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाएका थिए । तर, खेलको ३७ औँ मिनेटमा भुटनिजका रेने सान्टिलोनले र पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए ।
संकटाले पहिलो २ गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । संकटाका लागि कप्तान सुनील वलले अतिरिक्त समयको ११७ औं मिनेटमा निर्णायक गोल गर्दै उपाधि जिताए । प्रतियोगिताको विजेता संकटाले १२ लाख र दोस्रो भएको भुटनिज युथ स्पोर्टस क्लबले ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि संकटाका सुनिल बलले इलेक्ट्रिकल स्कुटर हात पारे । उत्कृष्ट गोल किपर संकटाका टेकेन्द्र सिह थापा, उत्कृष्ट मिड फिल्डमा आयूष घलान, उत्कृष्ट स्ट्राइकरमा स्टेफेन बियोङ, उत्कृष्ट प्रशिक्षकमा सल्यान खड्गीले हात पार्दा सर्वाधिक गोलकर्तामा संकटाकै विदेशी खेलाडी मेसुके रहेका थिए ।
यता वेष्ट डिफेन्डरमा भुटनिज बिवाइएससीका हेक्टर ओर्टेगाले बाजी मारे । उनीहरु सबैले ट्रफीका साथ जनही नगद २५ हजार हात पारेका छन् । धरान एफसीले फेयर प्ले अवार्ड प्राप्त गर्यो । आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा पौष १४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको थियो ।
विजयी टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, एन्फा केन्द्रिय अध्यक्ष पकञ्ज विक्रम नेम्वाङगायतले नगद, ट्रफी र मेडल वितरण गरेका थिए । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताबाट वचत रकम सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।