काठमाडौं । पोखरामा जारी २२ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको उपाधिका लागि संकटा क्लब र अमेरिकाको भुटनिज युथ स्पोर्टस् क्लब आमनेसामने हुँदैछन् । फाइनल खेल आज शनिबार दिउँसो १ः३० बजेदेखि पोखरा रंगशालामा सुरु हुनेछ ।
यसअघि, बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता सशत्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै २०७७ सालको च्याम्पियन संकटाले फाइनलमा स्थान पक्का बनाएको थियो । बिहीबारको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग १–० को जित निकाल्दै भुटनिज युथ स्पोर्टस् फाइनलमा पुगेको हो ।
दुवै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् । साविक विजेता एपीएफलाई स्तब्ध पार्दै फाइनल यात्रा तय गरेको संकटालाई दुई क्यामरुनी फरवार्डरको भर छ । संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमले उपाधि जित्ने दाबी गरे । उनले फाइनल खेलमा रणनीति परिवर्तन हुन सक्ने बताए ।
भुटनिज क्लब पनि उपाधि चुम्ने दाउसहित फाइनलमा उत्रदैँछ । दोस्रो पटक आहा–रारा पोखरा गोल्डकप खेल्न आईपुगेको प्रदिप हुँमागाईको प्रशिक्षणमा रहेको भुटनिज अमेरिकी टोली पहिलो पटक फाइलनमा पुग्न सफल भएको हो ।
प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै आएका दुवै टिमको फाइनल स्पर्धा रोचक हुने ठानिएको छ । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छ । यस्तै, विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, उच्च गोलकर्ताले २५ हजार, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।